७ असोज, काठमाडौं । नियम विपरित सेयर बेच्ने हिमालय डिस्टीलरी लिमिटेडकी पूर्व सञ्चालक रहिशा साह श्रेष्ठ र उक्त सेयर बिक्री गर्ने ब्रोकर कम्पनी श्री इन्भेष्टमेन्ट म्यानेजमेन्ट कम्पनीलाई नेपाल धितोपत्र बोर्डले कारबाही गरेको छ ।
श्रेष्ठले सूचिकृत संगठित संस्थाको संस्थागत सुशासन सम्बन्धी निर्देशिका विपरीत सेयर बिक्री गरेको र ब्रोकर इन्भेष्टमेन्ट म्यानेजमेन्टले सो सेयर कारोबारमा संलग्न भएको पाइएकाले उनीहरुविरुद्ध कारबाही गरिएको बोर्डले जनाएको छ ।
ब्रोकरले ग्राहक पहिचान लगायत अन्य आवश्यक जानकारी अद्यावधिक राख्नुपर्नेमा सोको पूर्ण रुपमा पालना नगरेको भन्दै बाोर्डले छानविन गरेको थियो । बोर्डले श्रेष्ठलाई ७५ हजार जरिवाना गर्ने निर्णय गरेको छ भने ब्रोकर कम्पनी इन्भेष्टमेन्ट म्यानेजमेन्टलाई एक लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।
शाहले २०७४ को दफा १४ को उपदफा (६) को व्यवस्था विपरीत संचालक पदबाट हटेको एक वर्ष नपुग्दै विभिन्न मितिमा हिमालयन डिष्टिलरीको शेयर बिक्री गरेको बोर्डको छानविनले देखाएको छ । सूचीकृत संगठित संस्थाको संचालकलाई गरिएको यो पहिलो कारवाही हो । बोर्डले यो कारबाहीबाट अन्य यस्ता गतिविधि नियन्त्रण हुने विश्वास गरेको छ ।