
७ असोज, बुटवल । कपिलवस्तुको वाणगंगा नगरपालिकावडा-७ मोतीपुर भलवाड सडकखण्डमा रहेको कजवेमा आएको बाढीले नेपाल विद्युत प्राधिकरणको गाडी र गाडीमा सवार ६ जनालाई बगाएको छ ।
प्राधिकरणको जितपुरस्थित स्वीच सेवाको बा १ ञ १०८९ नम्बरको गाडीलाई बाढीले बगाउँदा गाडीमा सवार ६ जनामध्ये १ जनाको मृत्यु भएको छ । गाडीमा सवार २ जना बेपत्ता छन् । ३ जनाले गाडीबाट हाम फाल्दै पौडिएर ज्यान जोगएको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले जानकारी दिए ।
मृत्यु हुनेमा जिप चालक ३५ वर्षीय माधवप्रसाद पाण्डे रहेका छन् भने वेपत्ता हुनेमा विद्युत वितरण केन्द्र ४ नम्बरका प्रमुख कृष्णप्रसाद पौडेल र अर्का स्थानीय केशव भाटक्षेत्री रहेका छन् ।
वाणगंगा नगरपालिकावडा ९ की शिक्षिका ३२ वर्षीय कोपिला अधिकारी, विद्युत कर्मचारी २७ वर्षीय विजय पोख्रेल र ५९ वर्षीय परशुराम थारु गाडीबाट हामफालेर ज्यान जोगाउन सफल भएका हुन् । बेपत्ता अन्य २ जना र गाडीको खोजी भइरहेको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बेपत्ताको खोजी गरिरहे पनि बाढीका कारण खोजीकार्यमा समस्या भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।