८ असोज, स्याङ्जा । स्याङ्जामा अविरल वर्षापछि गएको पहिरोमा परी ६ जनाको मृत्यु भएको छ ।
स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १४ मा पहिरोले घर पुर्दा ५ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएका २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपालीको शव निकालिएको प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।
वालिङ १४ तमादीमा बिहीबार बिहान घर माथिबाट पहिरो झर्दा माया परियारको घर पुरिएको थियो । सो घरमा १० जना रहेको जनाइएको छ । उनीहरुमध्ये १६ वर्षका मनिषा नेपालीलाई जीवितै उद्धार गरी थप उपचारका लागि पोखरा लगिएको छ ।
बेपत्ता भएको ४ जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। खोजी कार्यका लागि स्थानीय र सुरक्षाकर्मी जुटेका छन् । यस्तै बिहीबार बिहान कालीगण्डकी गाउँपालिका- ४ स्थित गौतमडाँडामा पहिरो जाँदा १८ वर्षे कृष्ण दमैको पनि मृत्यु भएको छ ।