
७ असोज, वीरगञ्ज । बाराबाट प्रहरीले १२ लाख १६ हजार रुपैयाँ नक्कली नोट सहित २ जनालाई पक्राउ गरेको छ । भारतिय सीमानासंग जोडिएकोे सिम्रौनगढ नगरपालिका ९ बसवरिया नहर नजिकैबाट नेपाली १२ लाख १६ हजार नक्कली नोट सहित दुई जनालाई बुधवार साँझ पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा बारागढी गाउँपालिका ५ सिंघासनी गाँउका २३ वर्षीय बलिराम चौधरी र भारत बिहार मोतिहारी जिल्ला घोडासहन थानाक्षेत्र अन्तरगत झरौखर घरभएका २७ बर्षिय संदिप कुमार रहेको प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले जानकारी दिए ।
उनीहरुको साथमा रहेकोे पहेलो रंगको झोला भित्र रातो प्लाष्टिकमा एकहजार दरका १ हजार २१६ थना नोट लुकाई छिपाई राखेको अवस्थामा चेकजाँचको क्रममा फेला परेको बारा प्रहरी प्रवक्ता मिश्राले बताएका छन् ।
चोरीका मोबाइल खरीदबिक्री भैरहेको सुचनाको आधारमा खटिएको प्रहरी टोलीले बुधबार साँझ नक्कली नोट सहित उनीहरुलाई पक्राउ गरेको हो । साथै उनीहरुले प्रयोग गरेका बा.६४ प ९७०६ नं.को मोटर साईकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
उक्त नोट मोबाइल खरिदकर्ताहरुलाई दिई ३० थान मोबाइल लिई फरार भएको अनुसन्धानका क्रममा खुलेको प्रवक्ता मिश्राले जानकारी दिएका छन् ।
पक्राउ दुबैजनालाई जिल्ला नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको तथा नक्कली नोट दिएर मोबाइल खरीदगरी फरारभएकाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।