समाचार

सरकारले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विशेष प्याकेज ल्याउने

Yogesh Bhattarai

१० असोज, काठमाडौं । कोरोना संक्रमणको दर कम भए सरकारले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विशेष प्याकेज ल्याउने भएको छ । विगत ६ महिनादेखि ठप्प रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले विशेष प्याकेज ल्याउने तयारी गरेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संक्रमणको अवस्था कम हुने वित्तिकै संगठित क्षेत्रका व्यक्तिहरुलाई संगठित रुपमा देश दर्शन गराउने बताए ।

राजधानीमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले संस्थान, वित्तिय क्षेत्र, शिक्षा क्षेत्रका व्यक्तिहरु, शिक्षक र कर्मचारी सबैलाई संगठित रुपमा देश दर्शन गराउने तयारी सरकारले गरेको बताए । उनले यो अभियानमा साथ दिन नीति क्षेत्रहरुलाई समेत आग्रह गरे ।

विश्वका जुनसुकै मुलुकले पनि आगामी दुई वर्ष आन्तरिक पर्यटनलाई जोड दिने नीति लिएको उल्लेख गर्दै उनले नेपालको सन्दर्भमा पनि आन्तरिक पर्यटनले नै धरासायी बनेको पर्यटन क्षेत्रलाई माथि उकास्न सहयोग पुग्ने बताए ।

मन्त्रालयले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि नै हप्तामा दुई दिन सार्वजनिक विदाको अवधारणा अघि सारेको उनले बताए । हप्तामा दुई दिन विदाको व्यवस्था मिलाउन विभिन्न मन्त्रालयहरुसँग अन्तरमन्त्रालय छलफल भइरहेको उनले बताए । पर्यटन सम्बद्ध सेवा प्रदायक संस्था तथा कम्पनीहरुले समेत आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विशेष योजनाहरु सार्वजनिक गरिरहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस