११ असोज, काठमाडौं । बझाङ मष्टा गाउँपालिका-२ की १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्यामा संलग्न व्यक्तिले एक महिनाअघि अर्की बालिकालाई बलात्कार गरेको खुलेको छ। कामीको बलात्कारपछि हत्यामा पक्राउ परेका १८ वर्षीय राजेन्द्र बोहोरासँगको अनुसन्धानबाट प्रहरीले अर्को बलात्कार घटनाको तथ्य फेला पारेको हो ।
सम्झनाको बलात्कारपछि हत्यामा संलग्न मष्टा-२ कै १८ वर्षीय युवा राजेन्द्र पक्राउ परेका थिए । उनी अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा छन् । सम्झनाको बलात्कार र हत्याको अनुसन्धान भइरहँदा राजेन्द्रबाट यसअघि पनि बलात्कार गरेको पत्ता लागेको प्रहरीले जनाएको छ ।
घटना साउन २९ गते साँझ ५ बजेको हो । मष्टा-२ कै १४ वर्षीया दमाई थरकी बालिकालाई बोहोराले बलात्कार गरेको अनुसन्धानमा खुलेको छ । त्यसबेला भने उक्त घटना स्थानीयको रोहबरमै मिलापत्र गरेको पाइएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जानकारी दिए ।
उक्त घटना गाउँमा फैलिएपछि साउन ३१ गते नै स्थानीयको रोहबरमा मिलापत्र गरेको कागज पनि भेटिएको छ । मिलापत्रमा ती बालिकाको पेटमा बच्चा भएको अवस्थामा भने राजेन्द्रले नै स्वीकार गर्नेसमेत उल्लेख गरिएको पाइएको छ । त्यस्तै बोहराले बालिकालाई कुटपिट समेत गरेको पाइएको छ । मिलापत्रको कागजमा अबदेखि बालिका कुटपिट नगर्ने उल्लेख गरेको देखिन्छ ।
अहिले भने १२ वर्षीया सम्झना विकको बलात्कार र हत्या आरोपमा बोहरा पक्राउ परेपछि पीडित पक्षले यस घटनाबारे प्रहरीलाई जानकारी गएका हुन् ।
त्यसबेला बलात्कारको घटना मिलापत्र गराउने विरुद्ध समेत अनुसन्धान सुरु गरिएको प्रहरी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मुकेश सिंहले जानकारी दिए । मिलापत्र गराउने विरुद्ध भने मतियारको कसुर आकर्षित हुने उनको भनाइ छ ।