
११ असोज, वीरगञ्ज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढ-पथलैया सडक खण्डमा बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।
पथलैयाबाट निजगढतर्फ गइरहेको स्कुटरलाई बसले ठक्कर दिँदा बाराको निजगढ-१० निवासी २५ वर्षीय तीर्थमान स्याङ्तान, उनकी श्रीमती २३ वर्षीया ज्योति र १ वर्षका छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिए । उनका अनुसार उनीहरु तीनै जनाको घटना स्थलमै मृत्यु भएको हो ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत दुधौरा पुलबाट २०० मिटर पूर्वी सडकमा निजगढबाट पथलैयातर्फ आउँदै गरेको ना.४.ख ७२४४ नम्बरको बसले पथलैयाबाट निजगढतर्फ जाँदै गरेको प्रदेश न.२-०३-००४ प ४४४२ नम्बरको स्कुटीलाई आइतबार साँझ ठक्कर दिएको थियो ।
ठक्कर दिने बसका चालक हाल फरार रहेको र उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।