
११ असोज, बुटवल । अविरल वर्षासँगै आएको पहिरोले ३ दिनदेखि अवरुद्ध भएको सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड आइतबार दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको छ ।
गत शुक्रबार रातिदेखि अवरुद्ध सडक दिउँसो सवा ३ बजेदेखि एकतर्फी सुचारु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिए ।
अविरल वर्षाका कारण उक्त सडकखण्डमा एक दर्जन बढी ठाँउमा पहिरो खसेको थियो । पहिरोसँगै झरेका ठूला ढुंगा फोर्नुपर्ने भएकाले तत्काल सडक खुलाउन नसकिएको पाण्डेले बताए ।
राजमार्ग अवरुद्ध हुँदा बुटवलबाट पाल्पा, गुल्मी, कास्की, पर्वत, बागलुङ, स्याङजा लगायतका जिल्लामा जाने तथा उताबाट आउने ३ हजार बढी सवारीसाधन बीच बाटोमा रोकिएका थिए । राजमार्ग सुचारु भएसँगै रोकिएका सवारीसाधन गन्तव्यमा जान हिँडेका छन् ।
प्रतिक्रिया दिनुहोस