१२ असोज, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले व्यवसायीबाट नियन्त्रणमा लिएको प्याज बिक्री गर्न थालेको छ । थापाथली बिक्री कक्षबाट प्रति केजी ६० रूपैयाँमा प्याज सर्वसाधारणलाई बिक्री गरिएको सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् ।
न्यौपानेका अनुसार शुक्रबार १७ क्विन्टल बिक्री भएको छ भने आइतबार लगभग २९ क्विन्टल बिक्रि भएको छ । आज पनि बिक्री हुने क्रम जारी छ । बजारभाउ भन्दा केही सस्तोमा प्याज बिक्री गरिएको उनले बताइन् । उनका अनुसार एक व्यक्तिले तीन केजीसम्म किन्न पाउनेछन् ।
सरकारले बजार अनुगमनका क्रममा बढी मूल्य लिएर बिक्री गर्न लागेका प्याज जफत गरी सर्वसाधारणलाई बिक्री गर्न थालेको हो । बजार अनुगमनका क्रममा १४ हजार ६०० केजी प्याज सरकारले नियन्त्रणमा लिएको थियो । बिक्री भएको प्याजको रकम ५२ रूपैयाँ राजस्व र ८ रूपैयाँ खाद्य कम्पनीको खातामा जिम्मा गरिने छ ।