
१२ असोज, हेटौंडा । अबिरल वर्षाका कारण केही दिन अघि गएको पहिराका कारण अवरुद्ध बनेको भीमफेदी–कुलेखानी सडकखण्ड आज बिहानदेखि खुलेको छ ।
उक्त सडकखण्डको भीमफेदी गाउँपालिका–६ र इन्द्रसरोवर गाउँपालिका–२ का विभिन्न स्थानमा गएको पहिरो पन्छाई आज बिहान ८ः०० बजेदेखि हेटौंडाबाट कुलेखानी–फाखेल हुँदै काठमाडौं जाने बाटो खुलेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बाटो खुलेसँगै काठमाडौंबाट हेटौंडा आउने र हेटौंडाबाट फाखेल हुँदै काठमाडौं जाने सवारीसाधन सञ्चालनमा आएको छ । त्यस्तै, हेटौंडाबाट सिस्नेरी हुँदै काठमाडौं जाने सिस्नेरीको बाटो भने पहिराका कारण अझै अवरुद्ध रहेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । उक्त बाटो आज बेलुकासम्म पहिरो हटाएर सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।