समाचार

राष्ट्रपतिद्वारा एसिड छ्याप्नेलाई कारबाही गर्नेसम्बन्धी अध्यादेश जारी

Bidhya Bhandari president

१२ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एसिड आक्रमणमा संलग्नलाई कारबाही गर्नेसम्बन्धी अध्यादेश जारी गरेकी छिन् । राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश–२०७७ गरेकी हुन् ।

प्रवक्ता हरि प्रसाद दहालले राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (२) बमोजिम अध्यादेश जारी गरेको जानकारी दिए ।

राष्ट्रपति भण्डारीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश जारी गरेकी हुन् ।

तेजाब बाट कुनै व्यक्तिको आँखा , कानको दुवै जालीमा क्षति भई सुन्ने शक्ति नष्ट भएमा नाक काम नलाग्ने भएमा, अनुहार पूर्ण रुपमा जले महिला कुरुप भएमा, महिलाको दुवै स्तन जली वा क्षती भई काम नलाग्ने भएमा वा कसैको यौनाङ्ग जली वा क्षति भई नासिएमा त्यस्तै व्यक्तिलाई २० वर्षसम्म जेल सजाय र १० लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

त्यस्तै कसैको एउटा आँखा, एउटा कान, आंशिक रुपमा अनुहार जली काम नलाग्ने भएमा, महिला भए उटा स्तन जली वा क्षति भई काम नलाग्ने भएमा, हुवै हात जली काम नलाग्ने भएमा, दुवै गोडा जलेर काम नलाग्ने भएमा, टाउकोको कुनै भाग जलेर क्षति भएमा त्यस्तै कसूर गर्ने व्यक्तिलाई १० देखि २० वर्ष र ७ लाखदेखि १० लाख रुपैयाासम्म जरिवानाको व्यवस्था गरिएको छ ।

त्यस्तै कुनै काम गर्दा वा त्यसको परिणामस्वरुप कसैको शरीरको अन्य अंगभंग वा शारीरिक क्षति भएमा कसूरको प्रकृति अनुसार पाँचदेखि १० वर्षकैद र एक लाखदेखि पाँच लाखसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

दफा (७) मा उपदफा (२), (३ वा (४) बमोजिम जरिवाना वापत प्राप्त पूरै रकम पीडितलाई क्षतिपूर्ति वापत दिनुपर्ने व्यवस्था छ ।

दफा ८ मा लेखिएको छ, ‘यस दफा बमोजिम भएको कसूरबाट पीडित व्यक्तिलाई भएको शारीरिक र मानसिक पीडा र अंगभंगको गम्भिरता तथा जरिवाना रकमसमेत विचार गरी सजाय निर्धारण गर्दा मनासिव क्षतिपूर्ति भराउनु पर्नेछ ।’

त्यस्तै एसिड पीडितको उपचार खर्च पनि एसिड छ्याप्ने व्यक्तिले व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस