समाचार

मोरङमा होटल सञ्‍चालकको कुटपिटबाट भारतीय ग्राहकको मृत्यु

police office urlabari

१३ असोज, विराटनगर । होटल सञ्चालकले कुटपिट गर्दा मोरङ उर्लाबारीमा एकजना ग्राहकको मृत्यु भएको छ ।

मोरङको उर्लाबारी नगरपालिका-७ मा रहेेको युनिक होटलका सञ्चालक २६ वर्षीय गोपाल तामाङको कुटपिट गर्दा भारतको दार्जेलिङ घर भई उर्लाबारी बस्दै आएका  ३५ वर्षीय सुशील मल्लिकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार आइतबार राति तामाङले कुटपिट गर्दा बेहोस भएका मल्लिकको सोमबार भारतको सिलगुढीमा उपचारका क्रममा मृत्यु भएको हो ।

सुनका गहना बनाउने पेसा गर्दै आएका मल्लिक आइतबार राति श्रीमतीसहित होटलमा पुगेका थिए । मादक पदार्थ सेवन गरेका दुईजनाबीच विवाद भएको थियो । श्रीमान श्रीमतीको विवाद गर्दा होटल सञ्चालक तामाङले मल्लिकलाई कुटपिट गरेको प्रहरीले बताएको छ ।

टाउकोमा चोट लागेका उनलाई उपचारका लागि तत्काल उर्लाबारीको गोदवारी अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि सोमबार बिहान ७ बजेतिर झापाको बी एण्ड सी अस्पताल लगिएको प्रहरीले जनाएको छ । बी एण्ड सीले पनि उपचार सम्भव नहुने जनाउँदै भारतको सिलिगुडी रेफर गरेको थियो । प्रहरी उपरीक्षक खड्काका अनुसार मल्लिकको उपचारका क्रममा सोमबारराति सिलिगुडीमै मृत्यु भएको हो ।

घटनापछि इलाका प्रहरी कार्यालय उर्लाबारीले कुटपिटमा संलग्न होटल सञ्चालक तामाङलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी प्रहरीको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस