१३ असोज, काठमाडौं । ब्रोइलर कुखुराका चल्लालाई मेहन्दी लगाएर ‘लोकल’ भन्दै महङ्गो दरमा बिक्री गर्ने चार जना भारतीय नागरिकलाई प्रहरी पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त, कालिमाटीको टोलीले प्रेमशिला देवी, वकिल खान, सुमित्रा जैसवाल र चन्दादेवी शाहलाई पक्राउ गरेको हो ।
कालिमाटीका डीएसपी अपिलराज बोहोराका अनुसार उनीहरुले १० रुपैयाँ प्रतिगोटामा चल्ला किनेर ल्याएर डेढ सय रुपैयाँसम्ममा बिक्री गरेको पाइएको छ ।
प्रहरीलाई प्राप्त सूचनाको आधारमा गएर छापा मार्दा ३ हजार ६ सय ५० वटा चल्ला रंग लगाइएको अवस्थामा बरामद भएको उनले बताए । थप २४ हजार ९ सय ५० वटा चल्लालाई रंग लगाउन तयारी अवस्थामा राखिएको पाइएको उनले बताए ।
उनीहरूले चितवनस्थित अविनाश ह्याचरीबाट खरिद गरेर चल्ला ल्याइ अवैध रूपमा रङ्ग परिवर्तन गरी बढी मूल्यमा बेचिरहेको सूचना प्रहरीले पाएको थियो ।
पक्राउ परेका चार जनालाई चल्लाको रङ परिवर्तन गरेर महंगोमा बेच्नेलाई कालाबाजारी ऐन अनुसार मुद्धा चलाउने तयारी रहेको बोहोराले बताए ।
एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुक र ट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।