
१३ असोज, काठमाडौं । सांसदहरुले दशैं तिहार नजिकिँदै गर्दा उपभोग्य वस्तुको मूल्यबृद्धि गरेर कालोबजारी भइरहेकाले नियन्त्रणका लागि प्रभावकारी अनुगमन गर्नुपर्ने बताएका छन् ।
संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको छलफलमा सांसदहरुले मूल्यबृद्धि नियन्त्रणका लागि सम्बन्धित निकायले अनुगमन गर्न आग्रह गरेका हुन् । सांसद देवेन्द्र पौडेलले बजार मुल्यमा समानता नभएको, अस्वभाविक रुपमा मूल्य बढेकोले नियन्त्रण गर्नुपर्ने बताए। नियन्त्रणका लागि सम्बन्धित निकायलाई पत्राचार गरी प्रभावकारी अनुगमन गर्न निर्देशन दिनु पर्ने उनले बताए ।
सांसद भिमसेनदास प्रधानले दिनदिनै अस्वभाविक रुपमा मुल्यबृद्धि भइरहेको बताए । मूल्यबृद्धि गर्नेलाई कडा कारवाही गर्नुपर्ने बताए । अस्वभाविक रुपमा मूल्यवृद्धि गर्नेलाई सार्वजनिक गर्नुपर्ने समेत बताए । सांसद सुजाता परियारले पनि दिनदिनै मूल्य बृद्धि भइरहेको बताए । अनुगमन गर्ने अवस्था अहिले नभएकाले सम्बन्धित निकायलाई छलफलमा बोलाउनुपर्ने बताए ।
समिति सभापति विमलप्रसाद श्रीवास्तवले मूल्य नियन्त्रणका लागि सम्बन्धित निकायलाई अनुगमन गर्न निर्देशन दिने निर्णय भएको बताए । समितिमा छलफलका लागि बोलाउने वातावरण नबनेसम्म सचिवालयलाई सम्बन्धित निकायलाई बोलाएर मूल्यवृद्धिका विषयमा सोधपुछ गर्न निर्देशन दिएको छ ।