१४ असोज, बुटवल । कृष्णनगर नगरपालिका २, पिपलबोटबाट मंगलबार राति १० बजे ७ किलो ५ सय ग्राम लागुऔषध अफिमसहित दुई जना पक्राउ परेका छन् ।
चन्द्रौटाबाट कृष्णनगरतर्फ आउँदै गरेको लु १ ह १५७ नम्बरको टेम्पोमा सवार रोल्पा कुरेली गाउँपालिका–१ बस्ने सीता रोकालाई शंका लागि चेक गर्दा अफिम बरामद भएको जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारीले बताए ।
उनले बोकेको दुई झोलामा प्लास्टिकको पोकापोका बनाएर अफिम राखिएको थियो । प्रहरीको आकस्मिक चेकिङमा अफिम बरामद गरिएको हो । अटो चालक कपिलवस्तु शिवराज नगरपालिका ५ बस्ने सुशील क्षेत्रीलाई पनि पक्राउ गरेर अनुसन्धान थालिएको छ ।
यसअघि असोज ७ गते पनि कृष्णनगरबाट ३७ केजी चरेससहित दुई महिलालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया दिनुहोस