समाचार

सिन्धुपाल्चोकको पहिरोपीडित बालबालिकाको अभिभावकत्व ग्रहण

lidi pahiro

१४ असोज, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा डेढ महिनाअघि पहिराले घर बगाउँदा अभिभावक गुमाएका बालबालिकाको यहाँस्थित जनप्रतिनिधिलगायत विभिन्न व्यक्तिले उनीहरुको अभिभावकत्व ग्रहण गरेका छन् ।

गत साउन ३० गतेको पहिराका कारण लिदीमा अभिभावकविहीन भएपछि १० बालबालिकालाई गतसाता काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ स्थित एसओएस् बालग्राम ल्याइएको थियो ।

सांसद गंगाबहादुर दोङ, पूर्व राज्यमन्त्री सूर्यमान दोङ, अन्तर्राष्ट्रिय तामाङ परिषद्का उपाध्यक्ष अस्मिता वाइवा, नेपाल तामाङ बाग्मती प्रदेशका सचिव हरिचन्द्र लामा, आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद्का उपाध्यक्ष विकास लामा, नेपाल तामाङ घेदुङ काभ्रेका अध्यक्ष फुर्साङ तामाङ, धुलिखेल नगरपालिका–४ का वडाध्यक्ष रविन्द्र कर्माचार्य, समाजसेवी खाइबा लामा, नेकपा जिल्ला सदस्य दिलिप घिसिङ र आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् धुलिखेलका अध्यक्ष शर्मिला थिङ तामाङले ती बालबालिकाको अभिभावकत्व ग्रहण गरे ।

चारदेखि १२ वर्षसम्मका दुई बालिकासहित पहिरोपीडित १० बालक हाल बालग्राममा आश्रीत छन् । एक बालबालिकाको एकले अभिभावकत्व ग्रहण गरिएको हो । अभिभावकले कक्षा १० सम्मको शिक्षाका लागि आर्थिक सहयोग गर्नुहुने भएको हो । “अभिभावक अभावको अनुभूती नहोस् भन्नका लागि अभिभावकत्व ग्रहण गरेका हौँ” सांसद दोङले भने । उनले बालबालिकाको शारीरिक, मानसिकलगायत बृहत्तर विकासका लागि थप सहयोग जुटाइने बताए ।

शैक्षिक अभिभावक पाउनेमा चार वर्षकी भूमिका गौतम, छ वर्षका मेम्बा लामा दोङ, दश वर्षका सुकबहादुर दोङ, सात वर्षका विवेक विक, चार वर्षका टेकबहादुर श्रेष्ठ, दश वर्षका टीकालाल दोङ, १२ वर्षका पेम्बा दोङ, दुर्गा दोङ, पाँच वर्षका आइत दोङ र ११ वर्षका रेखबहादुर दोङ छन् । सबै बालबालिकाको एक वर्षको पढाई खर्चसेमत बालग्रामलाई हस्तान्तरण गर्दै अभिभावकत्व ग्रहण भएको हो । पहिराले बाबुआमा गुमाएका बालबालिकालाई बालग्राम ल्याई आश्रित गरिएको थियो ।

गत साउन ३० गते विहान ६ बजे करिब तीन सय मिटर माथिको लामाटोलबाट सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी बस्तीमा आएको पहिरोले ३७ घर बगाउँदा ३७ को शव भेटिएको थियो भने दुई हालसम्म पनि बेपत्ता छन् ।

पहिराले बगाएर र पहिराको जोखिमका कारण विस्थापनमा परेका १७२ परिवारलाई जुगल गाउँपालिका–१ बासखर्कस्थित लेकाली जङ्गलछेउको खुल्ला स्थानमा संघ, प्रदेश, स्थानीय सरकार तथा विभिन्न संघसंसथाको सहयोगमा टेन्ट हालेर राखिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस