
२६ भदौ, काठमाडौं । नेपाली नागरिकताको प्रमाणपत्र किर्ते गरेर ५० करोड मूल्य पर्ने जग्गा ठगी गर्ने केवलप्रताप जंगबहादुर राणालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)बाट खटिएको टोलीले ललितपुर महानगर–१३ कुसुन्ती घर भएका ३३ वर्षीय राणालाई रातोपुलबाट पक्रेको हो ।
ब्युरोका अनुसार उनलाई रातोपुलको साधना गल्लीस्थित डेराकोठाबाट पक्राउ गरिएको हो । राणाले कमलादेवी राजभण्डारीको नाममा सर्पाको वीरगञ्जमा रहेको पाँच कठ्ठा, १५ धुर, नौ कन्वामा बनेको घरजग्गा मुकेश राजभण्डारी बनेर विक्री गर्न खोजेका थिए । मालपोत कार्यालयका कर्मचारीहरु समेतसँग मिलेमतोमा गिरधारीलाल अग्रवाललाई विक्री गर्न ५० लाख बैना समेत लिएका थिए ।
घटनाबारे जानकारी पाएपछि राजिव राजभण्डारी समेतले ब्यूरोमा जाहेरी दरखास्त दिएपछि राणालाई पक्राउ गरिएको थियो । उनले मुकेश राज भण्डारी किर्ते नाम लेखाउँदा ५० वर्ष उमेर र ललितपुर महानगरपालिका ३ ठेगाना लेखेको ब्यूरोले बताएको छ ।