
२६ भदौ, काठमाडौं । नेपाली कांग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागले नियमित आम्दानी नभएका र विपन्न वर्गका परिवारका लागि चाडपर्व खर्च उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
युनियनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाउँदै कोरोनाका कारण नियमित आम्दानी गुमाएका र विपन्न वर्गका परिवारलाई प्रतिपरिवार १० हजारका दरले चापवर्ड खर्च उपलब्ध गराउन माग गरेको हो । ट्रेड युनियन विभागका प्रमुख शिवप्रसाद हुमागाईंले अनौपचारिक तथा औपचारिक क्षेत्रमा कार्यरत निम्न आएका भएका श्रमिकको परिवारलाई दसैंतिहार (चाडपर्व) खर्चबापत प्रतिपरिवार १० हजारका दरले दिने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरिएको बताए ।
यसैगरी निम्न आय भएका गरिब परिवारको लागत संकलन गरी सामाजिक सुरक्षा भत्ताको रुपमा निर्वाह खर्चबापत् प्रतिपरिवार प्रतिमहिना ७ हजारका दरले नगद र तीन महिनालाई पुग्ने गरी खाद्यान्नको व्यवस्था गर्न पनि माग गरिएको उनले बताए । यस्तै श्रमजीवी पत्रकार ऐन पूर्वरुपमा कार्यान्वयन गर्दै स्वरोजगार मिडियाको प्रवर्द्धनका लागि समानुपातिक विज्ञापन सूचना प्रणाली र क्निफिड तत्काल लागु गर्न पनि विभागले माग गरेको छ । श्रमजीवी पत्रकारहरुलाई प्रतिमहिना १० हजारका दरले निर्वाह भत्ताको व्यवस्था गर्न पनि उनले सरकारसँग माग गरिएको बताए ।
विभागले महामारीको समयमा अहिलेसम्म २० अर्ब खर्च गरिएको भनिएकामा भ्रष्टाचार र अनियमितता गर्ने व्यक्ति, संस्था र पदाधिकारीहरुलाई छानबिनको दायरामा ल्याएर दुरुपयोग रकम असुलउपर गर्ने कानुनी व्यवस्था गर्न पनि माग गरेको छ ।
विदेशमा अलपत्र नागरिक स्वदेश फर्काउँदा समेत राजनीतिक भेदभाव, पहुँच र आस्थाको आधारमा व्वस्थापन गरिएको गुनासो आएको प्रतिपनि सरकारको ध्यानाकर्षण गराइएको उनले बताए ।
विदेशबाट फर्किएका नागरिकहरुका लागि तत्काल रोजगारीको अवस्था सिर्जना गरी उनीहरुको सीप र अनुभव अनुसारको रोजगारीको व्यवस्था गर्न पनि माग गरिएको छ । अलपत्र नागरिकहरुको उद्धारका लागि कल्याणकारी कोषको रकम परिचालन गर्न पनि सरकारसँग माग गरिएको उनले बताए ।
यसैगरी अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायत कर्मचारीहरुको विना भेदभाव निःशुल्क उपचार र २५ लाखको विमाको व्यवस्था गर्न पनि कांग्रेसको ट्रेड युनियन विभागले माग गरेको छ ।