विजनेश

लुम्बिनी प्रदेशमा दर्ता दस्तुर छुट भएपछि एक महिनामै ३५९ उद्योग दर्ता

industries

२८ असोज, बाँके । लुम्बिनी प्रदेश सरकारले दर्ता दस्तुर छुट गरेपछि बाँकेमा एक महिनामै ३५९ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । प्रदेश सरकारले कोरोना महामारीका कारण अर्थतन्त्र सङ्कटमा परेकाले घरेलु तथा साना उद्योगको प्रवद्र्धनका लागि दर्ता दस्तुरमा पूर्णरूपमा छुट गर्ने निर्णय कार्यान्वयन भएसँगै बाँकेमा उत्साहजनकरूपमा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख उद्योग अधिकृत जयराम थारूले जानकारी दिए ।

उनका अनुसार चालू आर्थिक वर्षको साउन १ गतेदेखि भदौ २३ गतेसम्म १३४ उद्योग दर्ता भएकामा भदौ २३ देखि उद्योग दर्ता दस्तुर छुट गर्ने प्रदेश सरकारको निर्णय कार्यान्वयन भएको एक महिनामै ३५९ उद्योग दर्ता भएका छन् । प्रदेश सरकारको गत भदौ ११ गतेको मन्त्रिपरिषद् बैठकले गरेको घरेलु तथा साना उद्योगको प्रवद्र्धनका लागि दर्ता दस्तुरमा पूर्णरूपमा छुट गर्ने निर्णय भदौ २३ गतेदेखि कार्यान्वयनमा आएको हो ।

रु २० लाखसम्मको पूँजीमा सञ्चालन हुने उद्योगको रु पाँच हजार, रु २० लाखदेखि रु ५० लाखसम्मको रु १५ हजार र रु ५० लाखदेखि माथिको पूँजीमा सञ्चालन हुने उद्योग दर्ताका लागि रु २५ हजार दर्ता दस्तुर रहेको थियो । प्रदेश सरकारको निर्णयपछि अहिले निवेदन दस्तुरबाहेक अन्य दर्ता दस्तुर पूर्णरूपमा छुट भएको प्रमुख उद्योग अधिकृत थारूले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस