२८ असोज, काठमाडौं । आगामी कात्तिक ७ गतेदेखि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ।
विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ६ (१) अनुसार नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने र ऐन प्रारम्भ हुँदाको बखतमा विदेशी च्यानलसँग डाउनलिङ्क गरी प्रसारण गर्ने सम्झौता गरिसकेका संस्थाहरुले ऐन प्रारम्भ भएको मितिले १ वर्षभित्र अर्थात २०७७ कात्तिक ७ गतेभित्र विज्ञापनरहित प्रसारण गर्नुपर्ने स्पष्ट कानुनी व्यवस्था रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सचिवलाई सम्बोधन गरी विभिन्न माध्यमबाट इन्डियन ब्रोडकास्टिङ फोरम, डिस्कभरी नेटवर्कस्, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासंघलगायत संघ-संस्थाबाट विज्ञापनरहित प्रसारणको म्याद थप गर्न माग गरिएको विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको पनि विज्ञप्तिमा जनाइएको छ ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता गोकर्णमणि दुवाडीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “२०७७ कात्तिक ७ गतेभित्र विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने व्यवस्था भएकाले ऐनको मर्म र भावनाअनुरुप तोकिएको मितिदेखि विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्न/गराउन सम्बन्धित सबै संघ-संस्थाहरुलाई अनुरोध गरिएको छ । २०७७ कात्तिक ७ गतेभित्र विज्ञापनरहित (क्लिन फिड) प्रसारण नभए प्रचलित कानुनबमोजिम हुने व्यवहोरासमेत जानकारी गराइन्छ ।”