समाचार

बाल अधिकारको क्षेत्रमा कार्यरत संस्थाहरुलाई एकीकृत कार्यक्रम बनाउन मन्त्री गुरुङको आग्रह

Parbat Gurung

२८ असोज, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बाल अधिकारको क्षेत्रमा कार्यरत संघ संस्थाहरुलाई एकीकृत कार्यक्रम बनाएर अघि बढ्न आग्रह गरेका छन् ।

मन्त्री गुरुङले बाल अधिकारको क्षेत्रमा कार्यरत सरकारी तथा गैर सरकारी संघ, संस्थाहरुले एकीकृत नीति, कार्यक्रम र बजेटका साथ काम नगरे बाल अधिकार सुनिश्चित गराउने अभियान प्रभावकारी हुन नसक्ने स्पष्ट पारे ।

‘एकीकृत नीति, कार्यक्रम र बजेटका साथ काम नगरे बाल अधिकार सुनिश्चित् गर्ने राष्ट्रिय अभियान अधुरो रहनेछ,’ बाल सहभागितामा कार्यरत संस्थाहरुको साझा समूह (कन्सोर्टियम-नेपाल)ले बुधबार आयोजना गरेको ‘भर्चुअल’ बैठकमा बोल्दै मन्त्री गुरुङले भने, ‘बाल अधिकार सुनिश्चित् गराउने कार्यक्रमलाई प्रभावकारी बनाउन पनि एकीकृत कार्यक्रम बनाएर अघि बढन म सम्बद्ध सरकारी तथा गैरसरकारी संघ, संस्थाहरुलाई आह्वान गर्दछु ।’

उनले बालबालिकासँग केन्द्रित कार्यक्रमलाई प्रभावकारी बनाउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अन्तर मन्त्रालयसँगको सहकार्यमा जोड दिएको समेत बताए । मन्त्री गुरुङले ‘बालमैत्री नेपाल’ निर्माण हुनेगरी बालबालिका सम्बन्धि १० वर्षे रणनीतिक योजना बनाउने कामलाई तीब्रता दिइएको पनि स्मरण गराए ।

राष्ट्रिय बाल अधिकार परिषदको नेतृत्वमा बाल अधिकारको क्षेत्रमा कार्यरत संघ, संस्थालाई एउटै कार्यक्रमका साथ अघि बढाएर बाल अधिकार सुनिश्चित गराउने अभियानलाई सार्थक बनाउन लागिपर्ने मन्त्री गुरुङको भनाइ थियो ।

कार्यक्रममा बाल अधिकारकर्मी तारक धिताललगायतले बालबालिकाको हितका लागि उनीहरुको अर्थपूर्ण सहभागितामा मात्रै नीति र कार्यक्रम बनाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस