
२९ असोज, काठमाडौं । होम आइसोलेसनमा बसेका धरान ९ का कोरोना संक्रमितको बुधबार राती मृत्यु भएको छ । धरान स्थित गौतम पथका ५८ वर्षीय पुरुषलाई थप उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिए लगत्तै उनको मृत्यु भएको हाे । अस्पताल पुर्याएको केही समयमा नै राती साँढे ११ बजे उनको मृत्यु भएको वडा नं ९ का अध्यक्ष रत्न कटवालले जानकारी दिए ।
उनका अनुसार मृतकलाई बुधबार दिउँसो नै अक्सिजन कमी भएर समस्या भएको थियो । उनलाई वीपी प्रतिष्ठानमा दिउँसो नै उपचारको लागि लैजाने पहल गरेपनि अक्सिजन भएको बेड अभाव भएपछि निजी अस्पतालबाट अक्सिजन किनेर घर मै राखिएको थियो । राती झन गाह्रो भएपछि प्रतिष्ठान लगिएको थियो । मृतकलाई ८ १० दिनदेखि ज्वरो आएको भएपनि तीन दिन अघि मात्र कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।
यसै गरी तेह्रथुमका ४९ वर्षीय एक संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी कक्षमा बुधबार राति मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार उनलाई जिल्ला अस्पताल धनकुटाले असोज २६ गते रिफर गरेको थियो । ती व्यक्तिलाई असोज २६ गते प्रतिष्ठानमै पीसीआर जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।