
२९ असोज, काठमाडौं । बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले मनास्लु हिमालको सफल आरोहण गरेका छन् ।
उनले आज बिहान ६ बजेर १० मिनेटमा मनास्लुको सफल आरोहण गरेको सेभेन सम्मिट ट्रेक्स प्रालिका कार्यकारी निर्देशक पासाङ फुर्बा शेर्पाले बताए । उनीसँगै बहराइनका शाही परिवारका सदस्य, सुरक्षा टोली, गाइड र शेर्पा गरी ५० जना मनास्लुको चुचुरोमा पुगेका हुन् ।
मनास्लु हिमाल संसारको आठौं अग्लो र नेपालको सातौं अग्लो हिमाल हो । यसको उचाइ ८ हजार १५६ मिटर छ । राजकुमार मोहमद हमदले यसअघि १७ असोजमा रोयल फोर्स टोलीका साथ ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल पनि आरोहण गरेका थिए ।
१५ जना बहराइन र ३ जना बेलायतीसहित हिमाल आरोहण गर्न गत भदौ ३१ गते नेपाल आएको बहराइनको टोलीले नेपाल सरकारबाट मनास्लु र लोबुचु हिमाल आरोहणको अनुमति पाएको थियो । आरोहणको व्यवस्थापन सेभेन समिट ट्रेक प्रालिले मिलाएको छ ।
मनास्लु आरोहणमा बिख्यात आरोही एवम् सेभेन समिटका मिङ्मा शेर्पा, टासी शेर्पासहितको टोली छ । बहराइनको राजकुमारसहितको यो टोली आगामी बसन्त ऋतुमा सगरमाथा आरोहणको पूर्व तयारीमासमेत रहेको सेभेन समिट ट्रेकले जनाएको छ ।