
२९ असोज, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका ५ का किसान सुरेन्द्रको पाण्डेको खेतमा गत वर्ष झन्डै ८५ मुरी धान फल्यो । उनको इस्मा गाउँपालिका ३, दर्लामचौरको घम्मु फाँटमा २१ रोपनी खेत छ ।
यस वर्षमा रासायनिक मल राख्न नपाउँदा र धानमा विभिन्न प्रकारका रोगको आक्रमणले उत्पादन सोचेजस्ता नहुने उनको अनुमान छ । उनले धानको बोटको टुप्पोमा सानासाना कीरा लागेको, जरा काटेको, गुबोभित्र कीरा लागेको तथा बाला सुक्नेजस्ता समस्या रहेको बताए । धानको उत्पादन कम हुँदा गाई-भैंसीलाई खुवाउने दानासमेत बढी किन्नुपर्ने उनले गुनासो गरे । उनले साउनको दोस्रो साता जडन जातको धान रोपेका थिए ।
यस्तै सोही स्थानका किसान भीमलाल पाण्डे पनि यो वर्ष धानको उत्पादन घट्नेमा चिन्तित हुनुहुन्छ । “टारी खेतको मुख्य उत्पादनै मकै र धान हो, मकै पनि यो वर्ष खासै राम्रो भएन,” उनले भने, “धानको आशामा चित्त बुझाएका थियौं, आशा निराशामा परिणत हुने भयो ।” दर्लामचौरको घम्मु फाँटमा मात्रै ४७ परिवारको २०५ रोपनी जग्गा छ । पाण्डेले सबैको खेतमा एउटै प्रकारको समस्या देखिएकाले सिंगो फाँटको उत्पादनमा कमी आउने बताए । “यस फाँटमा सामान्यत: एक रोपनी खेतमा चारमुरीसम्म धानको उत्पादन हुन्थ्यो,” उनले भने, “विभिन्न समस्याले गर्दा अहिले प्रतिरोपनी एक मुरी मात्रै धान हुने सम्भावना छ ।”
विषादीको सिफारिस
गुल्मीमा आर्थिक वर्ष ०७६/७७ मा कुल ६०० टन युरिया मलको माग भएकामा ५४३ टन मात्र आपूर्ति भएको थियो । यस्तै १७५ टन डीएपी मलको माग भएकामा १४३ टन मात्र आयात भएको थियो । त्यसरी आएको मल पनि समयमै नआउँदा समस्या परेको कृषि ज्ञान केन्द्र नै स्वीकार गर्छ ।
केन्द्रका कृषि प्रसार अधिकृत टीकाराम न्यौपानेले विभिन्न विषादीको प्रयोगद्वारा अहिलेको समस्या समाधान हुनसक्ने बताए । अहिले धानको जरामा लियान्पोट नामको ब्याक्टेरिया र धानको गुबामा बोर नामको कीराले आक्रमण गर्दा धान खेतीमा समस्या देखिएको उनले बताए ।
ब्याक्टेरियाका लागि ‘एग्रिमाइसिन’ र बोर कीराका लागि ‘कार्बोसिउरान’ नामको विषादी केन्द्रले सिफारिस गरेको उनको भनाइ छ । त्यसका लागि कार्यालयले आकस्मिक बाली संरक्षण कार्यक्रममार्फत विषादी उपलब्ध गराउन सक्ने तर त्यसका लागि किसानले कार्यालयमा सम्पर्क गनुपर्ने उनले बताए । किसानका उक्त समस्या स्थानीय तहको कृषि शाखाबाट समाधान हुनसक्ने उनको भनाइ छ ।
१० हजार हेक्टरमा धान खेती
जिल्लामा धान खेतीका लागि कुल क्षेत्रफल १० हजार ४४० हेक्टर हो । जसमध्ये ९८२ हेक्टरमा चैते र ९ हजार ४८५ हेक्टरमा बर्खे धानको खेती हुन्छ । यो वर्ष स्थानीय तहको बाँझो जग्गा खन्ने अभियान तथा लकडाउनका कारण थप जग्गामा समेत धान खेती गरिएको अनुमान छ । तर, त्यसको आधिकारिक तथ्याङ्क भने छैन । चौरासी, अश्लेवा, ग्वादी, खज्र्याङ, दम्का, सोता, आपचौर, वामीलगायत क्षेत्रमा बढी मात्रामा धान खेती हुने गर्छ ।
ती क्षेत्रहरुमा चन्दिना, सीएच ४५९, खुमल ४, खुमल ६, मकवानपुर १, हाइब्रिड यूएस् ३१२, उपज, क्रान्तिलगायत उन्नत जातका धान लगाइन्छ । जिल्लामा हशंराज, आपझेत्ते, मार्सी काठेजिनुवा, जडन, जेठो बूढोलगायत स्थानीय जातका पनि धान लगाइने कृषि ज्ञान केन्द्रले जनाएको छ ।
जिल्लाको धान उत्पादनको कुल क्षेत्रफलमध्ये चैते धान खेती हुने ४८० हेक्टर र वर्षे धान उत्पादन हुने नौ हजार ९६० हेक्टर रहेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सनबहादुर रानाले जानकारी दिए । जिल्लामा आव ०७५/७६ मा २७ हजार ९८९ तथा ०७६/७७ मा २८ हजार ७२३.७५ टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।