
२९ असोज, दाङ । सामाजिक सञ्जाल इमोमार्फत लट्रि पर्यो भनेर ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङको लमही नगरपालिका–५ निवासी दुई जना महिलालाई इमोमार्फत चिठ्ठा पर्यो भनेर गठी गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रौतहट जिल्ला दुर्गा भगवती गाउँपालिका–६ निवासी १८ बर्षीय सुमन झा, रौतहट जिल्ला गोनाही–६ निवासी ५० बर्षीय सोनालाल ठाकुर र पर्सा जिल्ला विरगंज महानगरपालिका–१६ नगवा बस्ने १८ बर्षीय राजनारायण चौरसिया रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख गणेश चन्दले जानकारी दिएका छन ।
उनीहरुले गत असोज २२ गतेका दिन इमोमार्फत ठुलो धनराशीको प्रलोभन देखाई ती महिलालाई आईएमई तथा विभिन्न व्यक्तिगत बैंक खातामार्फत त्रिसठ्ठी हजार रुपैया रकम पठाउन लगाएका थिए । उक्त रकम पठाईसकेपछि पनि पुनः फोन, म्यासेज, भ्वाईकलका माध्यमबाट थप रकम पठाउन बारम्बार आग्रह गरेपछि महिलाहरुले आफु ठगिएको महसुश गरेर प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
त्यही निवेदनको आधारमा प्रहरीले अनुसन्धान अघिबढाउँदा रौतहट र पर्सा जिल्लाबाट उनीहरुलाई पक्राउ गरेको प्रहरी प्रमुख चन्दले बताए । पक्राउ परेका व्यक्तिहरुलाई सात दिनको म्यादथप गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।