२९ असोज, काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले नक्कली प्रहरीलाई पक्राउ गरेको छ । विगत २ बर्षदेखि आफुलाई ‘नेपाल प्रहरी हुँ’ भन्दै मानिसहरुलाई अनुचित प्रभावमा पारेर आर्थिक लाभ लिने नक्कली प्रहरीलाई महाशाखाले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाकाअनुसार पक्राउ पर्नेमा जिल्ला रामेछाप खाँडोदेबी गाउँपालिका– ६ घर भई काठमाडौं बाँनियाटार बस्ने २८ वर्षीय गोविन्द खड्का रहेका छन् ।
उनले रातिको समयमा काठमाडौं उपत्यकाका रात्रिकालीन व्यवसायीहरुलाई बढी टार्गेटमा राख्ने गरेका थिए । मानिसलाई झुक्याउनका लागि हेण्ड वाकिटकी सञ्चार सेट समेत बोकेर हिँड्ने गरेको एसएसपी थापाले जानकरी दिए । त्यस्तै प्रहरीले लगाउने बुट, युनिफर्म लगायत समाग्री समेत प्रहरीले बरामद गरेको छ।
उनले प्रयोग गर्ने सेट सन् २०१४ मा सगरमाथा आरोहण गर्न आउने पर्यटकले खाना पकाउने र चालक काम गर्नेलाई राख्न दिएको खुलेको छ । बरामद गरेको सञ्चार सेटले एयरपोर्ट, प्रहरीको फ्रिक्वेन्सी टिप्ने गरेको देखिएको छ ।