२९ असोज, जनकपुरधाम । आफ्नै छोरीकी साथीलाई बलात्कारपछि हत्या गर्ने पुरूष पक्राउ परेका छन् ।
प्रहरीले रौतहटको वृन्दावन नगरपालिका-४ हर्दिया पल्टुवा बस्ने ४५ वर्षीय चुनु साह तेलीलाई १४ वर्षीया बालिकामाथि बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय रौतहट र २ नम्बर प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले गरुडा नगरपालिका-४ स्थितबाट पक्राउ गरेको हो ।
अनुसन्धानको क्रममा साहले गत असोज १६ गते गढीमाई नगरपालिका-१ समनपुर घर भई बृन्दावन नगरपालिका-४ स्थित बाजेको घरमा बस्दै आएकी १४ वर्षीया बालिकालाई उखुबारीमा जबरजस्ती करणी पश्चात घाँटी थिचेर हत्या गरेको पाइएको प्रदेश प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले बताए ।
‘साहले ललाई फकाई बालिकासँग जबरजस्ती करणी गरेको देखिएको छ,’ डीआईजी सिंहले भने, ‘बालिकाले अरुलाई भनी दिने बताएपछि हातले घाँटी थिची हत्या गरेका रहेछन् ।”
पक्राउ परेका साहले अपराध स्वीकार गरेको बताउँदै डीआईजी सिंहले उनीविरुद्व रौतहट जिल्ला अदालतबाट १५ दिनको म्याद थप गराई अन्य अनुसन्धान भइरहेको बताए ।