३० असोज, सुर्खेत । कोरोना भाइरस संक्रमणबाट सुर्खेतमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुर्भाकोट नगरपालिका–२ का २२ वर्षीय युवक छन् ।
ती युवकको प्रदेश अस्पताल सुर्खेतमा उपचार गर्दागर्दै बिहीबार साँझ ५ बजे मृत्यु भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृत्युपछि ७ बजे उनको रिपोर्ट पोजेटिभ आएको हो ।
आफन्तकोमा बसेर अध्ययन गरिरेका ती युवा यही असोज २८ गते शौचालयमै बेहोस भएका थिए । सुरुमा उनलाई आफन्तले झारफुक गर्न लिएका थिए । त्यसपछि मात्रै देउती अस्पताल लिएका थिए ।
उनको अवस्था जटिल भएपछि २८ गते राति ११ बजे प्रदेश अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । श्वास्प्रश्वासमा समस्या भएकोले अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिए पनि बिहीबार साँझ मृत्यु भएको हो ।
योसँगै कर्णालीमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या १२ पुगेको महाशाखाले जनाएको छ ।