३० असोज, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले भक्तपुरमा दुई वर्षअघि भएको इन्काउन्टर प्रकरणमा डीएसपीसहित ५ जनालाई कारबाही सिफारिस गरेको छ ।
काठमाडौ काँडाघारी बस्ने ११ बर्षीय बालक निशान खड्काको अपहरण पश्चात हत्या गरेको आरोप लागेका सिन्धुपाल्चोकका गोपाल तामाङ र नुवाकोटका अजय तामाङलाई प्रहरीले गत २०७५ साउन २१ मा भक्तपुरको सूर्य विनायक जंगलमा इन्काउन्टर गरेको थियो ।
पीडित परिवारले दिएको उजुरीमाथि छानबिन पछि आयोगले बिहीबार तत्कालीन प्रहरी नायव उपरीक्षक (डीएसपी) रुगमबहादुर कुँवर, प्रहरी नायव निरीक्षकहरु दिपेन्द्र चन्द, प्रशन्न मल्ल, रञ्जित लामा र प्रहरी सहायक निरीक्षक राजन खड्कालाई कार्वाहीको लागि सिफारिस गरिएको हो ।
सिफारिस गरिएकामध्ये प्रसन्नले जागिर छाडिसकेका छन् भने रन्जित प्रहरी निरीक्षक भएका छन् ।‘कुनै पनि एंगलबाट उक्त घटनालाई इन्काउन्टर भन्न मिल्ने देखिँदैन । नियन्त्रणपश्चात हत्या भएको आयोगको ठहर हो,’ आयोगका सदस्य मोहना अन्सारीले भनिन् ।