
३० असोज, काठमाडौं । दसैं नजिकिएसँगै बजारमा चहलपहल बढे पनि व्यापार नभएको व्यवसायीहरुले बताएका छन् ।
काठमाडौं उपत्यकाका मुख्य बजार क्षेत्र, न्युरोड, महाबौद्ध, इन्द्रचोक, असन, मखन टोललगायतको क्षेत्रमा दसैं नजिकिएसँगै किनमेल गर्नेहरुको चहलपहल बढेको देखिन्छ । कोभिड १९ संक्रमणको जोखिम भए पनि मानिसहरु आवश्यक सामग्री किनमेल गर्न बजार पुग्ने गरेका छन् । जसका कारण मुख्य-मुख्य बजार क्षेत्रमा चहलपहल विस्तारै बढ्दै गएको छ ।
बजारमा मानिसहरुको आवागमन बढेको भएपनि व्यापार नभएको व्यवसायीहरुले बताएका छन् । न्यूरोड मखनटोलस्थित सुरज आर्केड व्यापार संघका महासचिव सुरेश श्रेष्ठले व्यापार नै नहुँदा कतिपय व्यापारीहरु पलायन हुने स्थितिमा पुगेको बताए । कोभिड १९ रोकथामका लागि लामो समय लकडाउन हुँदा समेत सरकारबाट कुनै राहत नपाएको गुनासो समेत उनले गरे । अहिले व्यवसाय खुल्ला भएपनि तीन/चार दिनमा एकपटक मात्रै बोहनी हुने गरेको उनले बताए । दशैंको बेलामा पनि व्यापार नहुँदा झनै समस्यामा परेको श्रेष्ठले बताए ।
कोभिड संक्रमणको जोखिमका कारण भिड हुने बजार क्षेत्रमा नजान सरकारले आग्रह गरिरहेको छ । यस्तो समयमा अत्यावश्यकबाहेक सामग्री खरिद गर्न मानिसहरु बजार गएको पनि देखिँदैन । त्यसैले पनि लत्ताकपडा, जुत्ता, मोबाइल, गरगहनालगायतको व्यापार कम भएको व्यापारीहरुको भनाइ छ ।