१ कात्तिक, ओखलढुंगा । सिद्धिचरण नगरपालिका–५ स्थित सानीटारमा शुक्रबार र शनिबार गरेर २९ बाँदर पोखरीमा हाम फालेर मरेका छन् । शुक्रबार सिंचाइका लागि निर्माण गरिएको पोखरीमा डुबेर २२ वटा बाँदर मरेका थिए । स्थानीयले १२ वटा बाँदरको जिवितै उद्धार गरेका थिए । स्थानीय बासिन्दा र वन डिभिजन कार्यालयका कर्मचारीले उद्धार गरेका हुन् ।
शनिबार दिउँसो फेरि ७ वटा बाँदर पोखरीमा हाम फालेर मरेका स्थानीय देवकुमार दाहालले बताए । उनले बाँदर दैनिक पसेर मर्न थालेपछि पोखरीको पानी खोलेर रित्तो पारेको जनाए । बाँदरले सधैं अन्नबाली खाएर दुःख दिने क्षेत्र मानिने सानीटारमा ठूलो संख्यामा बाँदरको मृत्यु भएको हो ।
सिंचाइका लागि निर्माण गरिएको ६ फिट गहिरो सिमेन्टको पोखरीमा अन्य समयमा पनि बाँदरले पानी खाने गरेका थिए । पानी पिउने क्रममा बाँदरका बच्चा पोखरीमा खसेको र उद्दारका लागि अरु बाँदरसमेत पसेकाले निस्कन नसकेर मरेको हुनसक्ने वन डिभिजन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठको अनुमान छ ।
बाँदरको सामूहिक मृत्यु भएपछि वडाका जनप्रतिनिधि, वन डिभिजन कार्यालयका कर्मचारी र स्थानीयको रोहबरमा मुचुल्का उठाएर सद्गत समेत गरिएको छ । शनिबार समेत बाँदर मरेपछि वन डिभिजन कार्यालयका अधिकृतसहितको टोली घटनास्थलमा पुगेको छ ।
नियमित पानी खान आउने बाँदर पोखरीमा पसेपछि निस्कन नसकेको आँकलन गर्दैै पोखरीमा काठको भ¥याङ समेत राखिएको छ । पोखरीमा पानी खान आउन बाँदरलाई सहजताका लागि भ¥याङ निर्माण गरिएको डिभिजन प्रमुख श्रेष्ठको भनाइ छ ।