समाचार

डीआइजी पोखरेलको पहलमा न्यूनदृष्टियुक्त र अशक्तलाई दशैँ राहत

dig pokhrel

१ कात्तिक, काठमाडौं । रोग लागेर दुवै खुट्टा गुमाएका सिन्धुपाल्चोकका निमा लामा मुखैमा आएको बडादशैँमा परिवारको छाक कसरी टार्ने भन्ने चिन्तामा छन् । केही युवाले राहत ल्याइदिने खबर सुनाएपछि खुशीले दुई दिनदेखि उनलाई निद्रा परेको थिएन ।

आज राहत लिने दिन भएकाले उनी काठमाडौँको चुच्चेपाटीमा अपराह्न २ बज्नुअघि नै ह्वीलचियर गुडाउँदै आइपुगे । उनलाई नेपाल प्रहरीको एउटा समूहले एक पोका राहत उपलब्ध गरायो । त्यसमा थियो १० किलो चामल, आधा लिटर तेल, एकएक किलाको दरमा दाल, चना, नुन र मसला तथा साबुन । राहत पाउँदा उनको मुहारमा खुशीको चमक देखियो ।

“थोरै नै भए पनि सहयोग दिनु ठूलो हो, (अन्यलाई औँल्याउँदै) यतिका धेरै मानिसलाई राहत दिइएको छ, खुशी नै छु”, लामाले भने ।  काठमाडौँमा बसेको निकै वर्ष भए पनि कोरोनाकालमा बेहोरेको सकस उहाँलाई कहिल्यै नमेटिने छाप बनेको छ । कठिनाइ अझै हटिसकेको छैन । उनी कुनै बेला खाना वितरण गरेका ठाउँमा पुगेर भात खान्छन्, कतै राहत दिएको चाल पाए त्यहीँ पुग्छन् । दैनिकी यसैगरी बितिरहेका बेला निकैपछि घटस्थापनाको दिन आज एक पोका राहत पाउँदा उनी निकै खुशी भए ।

लामासँगै सेतो लौरो टेकेर धेरै न्यूनदृष्टियुक्तहरु चाबहिल जोरपाटी सडकपेटीमा लामबद्ध छन् । लस्करै बसेका उनीहरुका अगाडि नेपाल प्रहरीले राहतका पोका राखिदियो । छामछुम गर्दै सबैले आआफ्नो पोका सम्हाले । आपसमा कानेखुशी गर्दै एक जनाले भने, “राहत त थोरैथोरै पो छ ।” “थोरै भए पनि दिएको छ, चित्त बुझाऊ न”, अर्काबाट जवाफ आयो ।

न्यूनदृष्टियुक्त अमर ओलीले दशैँका मुखमा राहत पाएकामा खुशी व्यक्त गरे । “खै कुन संस्थाले दियो थाहा भएन, तपाईँ पत्रकार हुनुहुँदो रहेछ, त्यो संस्थालाई धन्यवाद सुनाइदिनू”, उनले भने।

सुर्खेतका ओलीको विसं २०६० मा दुवै आँखा बन्द भएको थियो । शल्यक्रियापछि एउटा आँखाले घुर्मैलो देख्न थाल्दा केही खुशी थपियो । अहिले विस्तारै त्यही आँखो कमजोर हुँदै जाँदा उनी चिन्तित छन् । ओली सडकमा दैनिक गीत गाएर परिवारको गुजारा चलाउछन् ।

कोरोनाकालमा गीत गाउन पनि गाह्रो भइरहेको उनी सुनाउछन् ।  पाँच महिनाको कोठाभाडासमेत तिर्न नसकेको अनुभव उनीसँग छ । त्यो ऋण अझै तिर्न सकिएको छैन । उनी आज प्राप्त खाद्य सहयोगले दशैँका मुखमा केही राहत मिलेको बताउछन् ।

उनीसँगै राहत प्राप्त गरेका अर्का न्यूनदृष्टियुक्त दिवस विष्टले केही दिनलाई छाक टार्न समस्या नपर्ने बताए । उनी पनि सडकमा गीत गाएरै परिवार पाल्ने गर्छन् । समयमै आँखाको उपचार नहुँदा दृष्टि गुमाएका जुम्लाका विष्ट एकार्कामा सूचना प्राप्त भएकाले राहत लिन नारायणटारबाट चुच्चेपाटी आएको बताउछन् । उनले भने, “गोकर्णेश्वर नगरपालिकाले पाँच किलो चामल दिएको थियो, अहिले १० किलो पाउनु ठूलो राहत हो ।”

यसअघि बन्दाबन्दीका समयमा वितरण भएको राहत पाउनुपर्ने व्यक्तिले भने नपाएको गुनासो उनको छ । नेपालीको महान् चाड शुरु भएको पहिलो दिन आज झण्डै १०० असख्क्त अपाङ्ग र दृष्टिविहिनले राहत पाएका छन् । ठुलो राहत नभए पनि सम्झेकोमा उनीहरु खुसी छन् ।

उक्त राहत विभिन्न बैँकसँगको सहकार्यमा महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलको पहलमा वितरण गरिएको हो ।

“हामीकहाँ राहत चाहियो, दशैँमा भोकभोकै हुने भयौँ भनेर धेरै अनुरोध आयो”, पोखरेलले भने, “त्यसैले इच्छुक बैंकसँगको सहकार्यमा विपन्न परिवारलाई राहत पु¥याएका हौँ ।”

दशैंका मुखमा ५०० विपन्न र अशक्त परिवारलाई राहत दिने योजना रहेको उनले जानकारी दिए । आज पहिलो दिन  चुच्चेपाटी र बौद्धका १०० जनालाई राहत उपलब्ध गराइएको छ । राहत लिन आउनेमा न्यूनदृष्टियुक्त, अशक्त, असहाय र अपाङ्गता भएका व्यक्ति थिए ।

प्रहरीले आफैँ बौद्धसम्म पुगेर राहत वितरण गरेको महानगरीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । उनकै नेतृत्वमा स्थानीय युवाको सहयोगमा राहत पु¥याइएको थियो ।

स्थानीय युवा र प्रहरीले नामावली सङ्कलन गरेर छाक टार्न धौधौ भएका अशक्त र  अपाङ्गता भएकाहरुको पहिचान गरी दशैँ राहत दिइएको हो । आगामी केही दिन विभिन्न ठाउँमा पुगेर पहिचान भएका त्यस्ता ५०० जनालाई राहत उपलब्ध गराउने योजना रहेको पोखरेलले सुनाए ।

यसअघि पोखरेलकै नेतृत्वमा बन्दाबन्दीका समयमा झण्डै छ हजार परिवारलाई यसैगरी राहत उपलब्ध गराइएको थियो । खाने अन्नसमेत नभएर भोकभोकै बस्न बाध्य भएको भनी गुनासो आउन थालेपछि बन्दाबन्दीका समयमा राहत बाँडिएको उनले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस