२ कात्तिक, उदयपुर । उदयपुरको कटारी नगरपालिका–१४ भदौरे भीरमा शनिबार राती स्कारपिओ दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन् ।
भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.२०.च.७१७१ नम्बरको स्कारपियो राति १२ बजे सिद्दिचरण लोकमार्गमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका डीएसपी बेदप्रसाद गौतमका अनुसार मृत्यु हुनेमा ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्ण सार्की रहेका छन् । अन्यको सनाखत भएको छैन ।
दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र चालक रुपन्देहीका २८ वर्षीय पनव खड्का गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि विराटनगर पठाइएको छ ।
प्रहरीले राति ब्रेक फेल भएर स्कोरपिओ दुर्घटना भएको हुन सक्ने अनुमान गरेको छ । गाडी सडकबाट करिब एक किलोमिटर मिटर तल खसेको छ । डिएसपी गौतमका अनुसार चालकको अवस्था गम्भिर छ ।