बैँक / वित्त

सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेन्टलाई प्राप्ति गर्ने

tinau bank

२ कात्तिक, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी आज उक्त कम्पनीसँग प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली २०७३ बमोजिम सो सम्झौता भएको हो ।

सम्झौतामा बैंकका संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डे र तिनाउ मिसन डेभलपमेण्ट बैंकका संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक राजेन्द्र प्रसाद ओझाले हस्ताक्षर गरेका छन् ।

२०७७ कार्तिक २ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १ खर्ब १५ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई  दिएको ऋण लगानी करिव ९८ अर्ब रुपैयाँ हुनेछ । प्राप्ति पश्चात बैंकको कुल शाखा १६४ हुनेछ । हालको सिटिजन्स बैंकको चुक्ता पूँजी ९ अर्ब ८ करोड रुपैयाँ रहेको छ भने तिनाउ मिसन डेभलपमेण्ट बैंकको चुक्ता पूँजी १ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । शेयर स्वाप रेसियो विस्तृत मूल्यांकन प्रतिवेदनद्वारा सिफारिस भए बमोजिम निर्धारण गर्ने सहमति भएको छ ।

प्राप्ति पश्चात बैंकको पहुँच बढ्न गई प्रतिस्पर्धात्मक क्षमताको अभिबृद्धि हुने, बैंकको वित्तीय, मानव–संशाधनका साथै प्राविधिक एवं अन्य क्षमताको अभिवृद्धि भई ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग सुविधा प्रदान गर्न सहज हुने र देशको बैंकिङ्ग तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मद्दत पुग्ने विश्वास बैंकको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस