समाचार

सिङमा हरियो रङ भएका खसी, बोका खरीद गर्न काठमाडौं महानगरको आग्रह

goat

२ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले उपभोक्तालाई सिङमा हरियो रङ भएका खसी, बोका, भेंडा, च्याङ्ग्रा जस्ता चौपाया खरीद गर्न आग्रह गरेको छ ।  बडादशैंका लागि काठमाडौं ल्याइएका निरोग खसी-बोका तथा भेंडा-च्याङ्ग्राको सिङमा हरियो र रोगीलाई रातो लगाइने गरेको छ ।

कामपा पशु सेवा विभागले मासुका लागि चौपाया बिक्रीवितरण हुने स्थानमा पुगी दशैँका लागि बिक्रीका लागि राखिएका चौपायाको स्वास्थ्य परीक्षण गर्दा ज्वरोे आए/नआएको, नाकबाट सिँगान बगे/नबगेको, झोक्राएको/नझोक्राएको, पातलो दिसा भए/नभएको, चोटपटक भए/नभएको जस्ता सामान्य स्वास्थ्यावस्थाका विषयमा पशु चिकित्सकले परीक्षण गरेपछि सिङमा रङ लगाउन थालेको छ ।

ती चौपायाको स्वास्थ्य जाँचका लागि महानगरबाट शनिबारदेखि महाष्टमीसम्म तीन टोली परिचालन भएका छन् । माछामासुजन्य खाद्यवस्तु तथा दूध र दुग्धजन्य खाद्यवस्तुको नमूना सङ्कलन गर्ने र प्रयोगशालामा परीक्षण गरेर यसको स्वच्छता कायम गराउने काम बजार निरीक्षणका क्रममा हेरिनेछ  ।

चौपाया खरीदबिक्री प्रालिका अध्यक्ष जनककुमार खड्काका  अनुसार काठमाडौंमा ६० हजार खसीबोकाको माग भयो भने  पूरा गराउन सकिन्छ । चौपाया ल्याउन सकिने अवस्था छ । ल्याएर बिक्री हुन्छ कि हुँदैन भन्न सकिने अवस्था छैन । काठमाडौंँको ठूलो खसी बजार भनेको कलङ्की हो । बन्दाबन्दीपूर्व सो बजारमा कक्ष लिएर व्यापार गर्ने २९ व्यापारी थिए । कोरोनाका कारण तीमध्ये १६ व्यवसायीले व्यापार छाडे ।

कामपाका कलङ्की र टुकुचामा खसी बजार छ । यसै गरी बडादशैँका बेला काठमाडौंकै आकाशेधारा, कपन, चाल्नाखेल र  चन्द्रागिरि, भक्तपुरका लोकन्थली र सल्लाघारी तथा ललितपुरको लगनखेलमा पनि चौपाया बजार लाग्ने गरेको छ ।  स्वच्छ मासुका लागि काठमाडौं भित्रिने नाका नागढुङ्गा, दक्षिणकाली, बालाजु र  साँगामा चौपायामाथि निगरानी बढाउने गरिन्छ ।

काठमाडौं ल्याइने च्याङ्ग्राहरुको सङ्कलन मुस्ताङको कोरला नाकामा हुने भएकाले सो क्षेत्रमा पनि विशेष निगरानी बढाउने गरिन्छ । काठमाडौं चौपाया खरीदबिक्री प्रालिले यसपटक दशैंमा करीब ४० हजार चौपाया खपत हुने अनुमान गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस