समाचार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जोखिममा

pokhara airport

२ कात्तिक, पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको छ । पर्यटकीय नगरी पोखरालाई विश्वसँग जोडन यो विमानस्थल महत्वपूर्ण हुने बताइएको छ । तर विमानस्थलबाट नजिकै रहेको डम्पिङ साइटका कारण विमानस्थल जोखिममा परेको तर्फ भने कसैको ध्यान जान सकेको छैन ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य करिब ६५ प्रतिशत पूरा भइसकेको छ । विमानस्थल निर्माण हुँदै गर्दा यहाँबाट हुने हवाई उडानलाई सुरक्षित बनाउन विभिन्‍न काम गरिएका छन् । तर पोखरा महानगरपालिका १४, बाच्छेबडुवामा रहेको डम्पिङ साइटबाट हुने जोखिममा भने खासै ध्यान जान सकेको छैन ।

अन्तर्राष्ट्रिय मान्यताअनुसार विमानस्थलबाट पाँच किलोमिटरभित्र डम्पिङ साइट हुनु हुँदैन । तर यो डम्पिङ साइट ५ किलोमिटरभित्रै पर्छ । विमानस्थलबाट डम्पिङ साइट नजिक हुँदा चिल, गिद्धलगायत कुनै पनि चराचुरुंगीबाट हवाई उडान जोखिममा पर्न सक्छ । त्यसैले पनि यो ठाउँबाट डम्पिङ साइट हटाउनुपर्ने देखिन्छ । पोखरा विमानस्थलका प्रमुख भोला गुरागाईंले डम्पिङ साइट हटाउनेभन्दा पनि विमानस्थल वरिपरि चराचुरुंगीको व्यवस्थापन गर्न बर्ड स्केरिङ डिभाइसहरु राखिने बताए ।

विमानस्थलबाट नजिकै डम्पिङ साइट रहेकाले अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानलाई जोखिममा पार्ने निश्चित छ । पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले विमानस्थललाई खतरामुक्त बनाउन नयाँ डम्पिङ क्षेत्रको खोजीमा रहेको बताए । हाल बाच्छेडाँडाँमा रहेको डम्पिङ साइटको विकल्पमा माछापुच्छ्रे गाउँपालिकाको सार्दिखोलामा बनाउने योजना रहेको पनि उनले बताए ।

यसै पनि पोखरामा आगन्तुक चराहरुको चहलपहल बढी हुने गर्छ । तर फोहोरको थुप्रोमा विभिन्‍न किसिमका चराचुरुंगी रहने र तिनले विमानस्थल आसपासमा जोखिम बढाउने भएकाले त्यसको व्यवस्थापनका लागि हाल रहेको डम्पिङ साइटलाई तत्काल हटाउनुपर्ने देखिन्छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस