
२ कात्तिक, काठमाडौं । जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरी दशैंलाई लक्षित गर्दै कात्तिक ३ गते अर्थात भोलिदेखि १५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।
मोरङका जिल्ला प्रमुख कोशहरि निरौलाले एक सूचना जारी गर्दै कात्तिक ३ गतेबाट १५ गतेसम्मका लागि मठ मन्दिर तथा शक्तिपीठमा गरिने पूजाआजा, सामूहिक चियापान तथा शुभकामना आदानप्रदानका कार्यक्रम, सामूहिक शिलान्यास, उद्घाटन, सम्मेलन लगायतका कार्यमा रोक लगाएको जानकारी दिए ।
चाडपर्वका क्रममा जिल्लाभरका मठ मन्दिर, पण्डाल, गुम्बा, चर्च, मस्जिदमा दैनिक रुपमा नित्य पूजा, प्रार्थना बाहेक सामूहिक रुपमा पूजा प्रार्थना, भजन किर्तन, रथ तथा कलश यात्रा, बली पूजा, मूर्ति विर्सजन जस्ता कार्य गर्न नपाउने गरी निषेधाज्ञा लगाइएको छ ।
निषेधज्ञा अवधिभर जिल्लाभरि नै साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म राजमार्गमा चल्ने लामो दूरीका सवारी बाहेक अन्य सवारीको आवतजावतलाई समेत रोक लगाइएको छ ।