३ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना सांसदले पाएको दशैं भत्ता फिर्ता गर्ने भएको छ । पार्टीका शीर्ष नेताको टेलिफोन संवादपछि सांसदहरु दशैं भत्ता फिर्ता गर्ने निष्कर्षमा पुगेको काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।
त्यसका लागि संसदीय दलले केही समयमै दशैं भत्ता फिर्ता गर्ने औपचारिक निर्णयसहितको विज्ञप्ति निकाल्ने बताए । खाणले संसदीय दलका नेतासमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले सांसदको दशैंभत्ता फिर्ताका लागि निर्देशन पनि दिएको बताए ।
दशैंभत्ता फिर्ताका लागि संघीय संसद् सचिवालयलाई पत्र पठाउने तयारी भइरहेको खाणले जानकारी दिए । दशैं भत्ताको चौतर्फी विरोध भएपछि प्रमुख सचेतक खाण, सांसदहरु प्रकाशमान सिंह र गगन थापाले दशैंभत्ता फिर्ताको घोषणा गरेका थिए ।
संसदीय दलले निर्णय गरेर सबैको भत्ता फिर्ता गर्नपर्ने सांसदहरुबाट नै आवाज उठेपछि संसदीयले संस्थागत निर्णय गर्न लागेको हो । प्रतिनिधि सभामा कांग्रेसका ६३ सांसद छन् । दशैं भत्तावापत संसद सचिवालयले प्रतिसांसद ६४ हजार ७० रुपैयाँ बैंक खातामा पठाइसकेको थियो ।