
४ कात्तिक, कैलाली । कैलालीमा नेपाल प्रहरीका असई गोविन्द विक र जवान रामबहादुर साउँदको हत्यामा संग्लन आरोपमा पक्राउ परेका सात जनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनमार्फत उनीहरुलाई सार्वजनिक गरेको हो।
प्रहरीले सार्वजनिक गरेकाहरुमा धनगढी उप-महानगरपालिका १० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना, सोही स्थानका २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय गोपाल भन्ने रामगोपाल राना छन् ।
अभियुक्तहरूले नेपालबाट भारततिर सामान तस्करी गर्दा प्रहरीले अवरोध सिर्जना गरेपछि घाटी रेटेरै हत्या गरेको स्वीकार गरेको कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए ।
अनुसन्धानका लागि १६ जनालाई नियन्त्रणमा लिएकोमा ७ जनाको संलग्नता देखिएको उनले पुष्टि गरे । गत शनिवार राति नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोस्ट जुगेडाका इन्चार्ज समेत रहेका विक र प्रहरी जवान बेपत्ता भएका थिए ।
खोजी गर्ने क्रममा प्रहरी सहायक निरीक्षक विकको शव आइतवार बिहान धनगढी उपमहानगरपालिका–१० को नेपाल–भारत सीमास्थित मोहना नदीमा भेटिएको थियो । विकको शव भेटिएकै मोहना नदी क्षेत्रमा मंगलवार प्रहरी जवान साउँदको शव फेला परेको थियो ।