समाचार

जाडोमा कोरोना महामारीबाट जोगिन पूर्वसावधानी अपनाऔं : प्रधानसेनापति थापा

purnachandra thapa

४ कात्तिक, काठमाडौं । प्रधासेनापति पूर्णचन्द्र थापाले जाडो मौसममा कोरोना भाइरसको महामारी झन बढ्न सक्ने भन्दै रोकथाम तथा नियन्त्रणका लागि मातहतका पृतनापतिलाई पूर्वसावधानी अपनाउन निर्देशन दिएका छन् ।

मातहतका सबै पृतनापतिलाई उनले जाडो मौसममा महामारी बढ्ने पूर्वानुमान अनुसार तयारी गर्न निर्देशन दिएका हुन् ।

मंगलबार सम्पन्न पृतनापति समन्वयात्मक बैठकमा उनले भनेका छन्, ‘सबै पृतनाहरुले सम्बन्धित सरोकारवाला निकायहरुसँग निरन्तर समन्वयमा गरेर आवश्यक पूर्वतयारी गर्नुहोला ।’

उनले महामारीको समयमा आफ्नो फौज र तिनका परिवारको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन पनि भनेका छन् । संक्रमण भइहाले उचित उपचारको व्यवस्था मिलाउन र हौसला कायम राख्न सबैलाई निर्देशन दिन पनि भनेका छन् ।

उनले नेपाली सेनाको कार्यशैलीमा सकारात्मक परिवर्तन आएको बताउँदै संगठनलाई पद्धति र प्रणालीमा आधारित बनाउन थप बल पुर्‍याएको पनि भनेका छन् ।

बैठकमा जर्नेलहरुले जिम्मेवारी अनुसारको विषयको प्रगति विवरणको समीक्षा गरेका थिए भने सुरक्षाको वर्तमान स्थिति र कोभिड–१९ बाट सिर्जित अवस्था तथा त्यसबाट आइपर्नसक्ने सुरक्षा चुनौतीहरु एवं लिनुपर्ने कार्यनीतिबारे सुझावसहितको प्रस्तुतीकरण दिएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस