
६ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले २ अर्ब रुपैयाँ बराबरको नयाँ नोट बजारमा पठाएको छ । राष्ट्र बैङ्कले २० रुपैयाँ दरको सङ्केत नम्बर ञ/४२ ०००००१ देखि ठ/१०० ९९९९९९ सम्मका नोट बिहीबारदेखि बजारमा पठाएको राष्ट्र बैङ्कका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिए ।
२० रुपैयाँको नोट जारी भए पनि अघिल्लो वर्षजस्तै सबै नोट भने बजारमा पठाइएको छैन । हरेक वर्ष दशैँ नजिकिएसँगै राष्ट्र बैंकले नयाँ नोट सर्वसाधारणहरुका लागि बजारमा पठाउने गरेको थियो । तर यस वर्ष कोरोना जोखिमका कारण राष्ट्र बैंकले नयाँ नोट सटही गरेको छैन् ।
सर्वसाधारणले पाएनन् नयाँ नोट
२० रुपैयाँको नोट जारी भए पनि अघिल्लो वर्षजस्तै सबै नोट भने बजारमा पठाइएको छैन । राष्ट्र बैङ्कमा भीडभाड हुने भएकोले नोट सटही नगर्ने जनाएको नेपाल राष्ट्र बैङ्कले सर्वसाधारणलाई वितरण गर्न पुग्नेगरी बैङ्क तथा वित्तीय संस्थामा समेत नयाँ नोट पठाएको छैन । कार्यकारी निर्देशक नेपालले दैनिक कारोबार सञ्चालन गर्न र खुद्रा मिलाउने प्रयोजनको लागि मात्रै नयाँ नोट बैङ्कमा पठाइएको बताए ।
‘कारोबार चलाउन र खुद्रा मिलाउन समस्या छैन, तर विगतमा जस्तै साट्ने प्रयोजनको लागि यो पटक नयाँ पैसा पठाइएको छैन,’ उनले भने । नयाँ पैसा नपाएपछि सर्वसाधारणले यसपटक टिकाटालोका लागि सुकिलो पैसाको जोहो गर्न थालेका छन् ।