राजनीति

देशको समृद्धिको आधार भनेको जाति, भाषा र संस्कृतिको संरक्षण र विकास होः प्रचण्ड

prachanda

७ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको समृद्धिका आधारहरु भनेको त्यो देशको जाति, भाषा, धर्म, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास भएको बताएका छन् ।

दशैं, तिहार, छठ, नेपाल संवत् लगायतका नेपाली जनसमुदायहरुका चाडपर्वहरुको अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् । उनले शुभकामनामा भनेका छन्, ‘विविधतायुक्त सांस्कृतिक ऐक्यवद्धता हामी नेपालीहरुको मौलिक विशेषता हो । सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास देशको समृद्धिका आधारहरु हुन् ।’

अध्यक्षले कोरोना भाइरसको महामारीको विषम् परिस्थितिमा स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डहरुको पालना गर्दै चाडपर्व मनाउन अपील पनि गरेका छन् ।

अध्यक्ष प्रचण्डद्वारा जारी विज्ञप्तिको पूर्णपाठः–

शुभकामना

दशैं, तिहार, छठ, नेपाल संवत् लगायतका चाडपर्वहरुको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नेपाली समुदायले मनाउने विभिन्न सांस्कृतिक चाडपर्वहरुले आपसी सहिष्णुता, भातृत्व र भावनात्मक एकता पैदा गर्दछन् । यिनै चाडपर्वहरुले नेपाली समुदायमा राष्ट्रिय भावना जागृत गर्न विशिष्ट योगदान पनि पुर्याउँदै आएका छन् ।

विविधतायुक्त सांस्कृतिक ऐक्यवद्धता हामी नेपालीहरुको मौलिक विशेषता हो । सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास देशको समृद्धिका आधारहरु हुन् ।
कोरोना भाइरस (कोभिड–१९) का कारण अहिले सहजरुपमा चाडपर्व मनाउने अवस्था नभएको सबैमा विदितै छ । यस विषम परिस्थितिमा स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डहरुको पालना गर्दै चाडपर्व मनाउन म सबैमा अपील गर्न चाहन्छु ।

कोरोना भाइरसका कारण प्रभावित जनजीवन आगामि दिनमा सामान्य बन्न सकोस् भन्ने कामना गर्दै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा पुनः एकपटक सु–स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

०७ कार्तिक, २०७७
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस