समाचार

सुन्धारास्थित मुसफिर मदिनी मस्जिदमा तोडफोड

masjid todfod

८ कात्तिक, काठमाडौं । काठमाडौंको सुन्धारास्थित मुसफिर मदिनी मस्जिदमा तोडफोड भएको छ । शनिबार बिहान नचिनेका समूहले डोजर लगाएर मस्जिद अगाडिको भाग तोडफोड गरेका हुन् ।

एक सय वर्षभन्दा पुरानो भनिएको यो मस्जिद भूमाफियाको तारोसमेत बन्ने गरेको छ । निर्माणधीन धरहराको ठीक पछाडि ६ आना ३ दाम क्षेत्रफलमा रहेको यो मस्जिदको स्वामित्व नेपाल सरकारसँग छ । भोगचलन मस्जिद व्यवस्थापनले गर्दै आएको छ ।

मस्जिद भत्काइएपछि काठमाडौँमा रहेका मुस्लिम समुदाय चिन्तित र आक्रोशित बनेका छन् । मस्जिद परिसरमा भेटिएका मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले भूमाफियाले जग्गा हडप्न मस्जिद भत्काउने काम गरेको बताए । यस अघिपनि पटकपटक भूमाफियाले जग्गामा आँखा लगाएर मुस्लिम समुदायलाई धम्क्याउँदै आएको अध्यक्ष अन्सारीले बताए ।

यस्तै मस्जिद रहेको काठमाडौँ महानगरपालिका वडा नं. २२ का वडा सदस्य गीता परियारले वडा अध्यक्षको संलग्नतामा केही भूमाफियाले सँधै मस्जिद खाली गर्न धम्क्याउने गरेको बताइन् । यता आजको घटनालाई नेपाल मुस्लिम संघले समेत विरोध गरेको छ । मुस्लिम संघका अध्यक्ष अब्दुल सतारले आजको घटना मस्जिद माथिको आक्रमण मात्रै नभएर सम्पूर्ण नेपाली मुस्लिम माथिको आक्रमण भएको बताए ।

यो मुसफिर मदिनी मस्जिद २०७२ सालको भूकम्पले धरहरा ढल्दा क्षतिग्रस्त बनेको थियो । यसलाई मुस्लिम समुदायले अस्थायीरुपमा संरचना बनाई प्रयोग गरिरहेका छन् । आज भन्दा एक सय वर्ष अघि मुस्लिम धर्मावलम्बीहरु काठमाडौं आउजाउ गर्दा नमाज पढने स्थानको रुपमा स्थापित भएको यो मस्जिदमा अहिले ४ प्रहरको नमाज पढन मस्लिम समुदाय पुग्ने गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस