समाचार

कार्यालय भएकै स्थानमा टीका, शक्तिपीठमा सुनसान

Dashain Tika

१० कात्तिक, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१२ का डोलराज पराजुलीले यसवर्ष  पहिलोपटक घर बाहिर दशैको टीका लगाए । विश्वव्यापी कोरोना महामारीका कारण पराजुली जन्मघरमा जान नपाएका हुन् । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका अधिकृत पराजुलीले भने, “विगतका दशैंमा गाउँघरमै पुगेर टीका लगाउने गरेको थिएँ, यो वर्ष कोरोना सङ्मण बढ्दै गएकोले आवतजावतमा समेत समस्या हुने र सरकारले समेत जो जहाँ बसेको छ त्यही ठाउँमा चाडबाड मनाउन भनेकोले कर्मथलो पोखरामै दशैं मनाइयो ।”

कोरोना भाइरस (कोभिड १९) को जोखिमका कारण धेरैको यसपालिको दशैं आफ्नो घरमा सीमित बन्न पुग्यो । रोजगारी र व्यावसायका क्रममा विदेशमा रहेकाहरुले उतैबाट दशैं मनाए भने स्वदेशका शक्तिपीठहरुमा भीडभाड र बलि दिने कार्यक्रम भएनन् ।

वालिङ नगरपालिका १२ मा रहेको लोकप्रित अकलादेवीको मन्दिरमा दर्शनमा रोक लगाइएपनि यहाँ भारत गोरखपुरबाट समेत आउने दर्शनार्थी यसपल्ट देखिएनन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भवीराज गुरुङले स्वास्थ्य जोखिमका कारण भीडभाडमा रोक लगाइएको बताए । मन्दिरका पुजारी गम्मरसिङ गुरुङले सो मन्दिरमा भक्तजनले भाकल गर्ने र मनोकाङ्क्षा पूरा भएपनि बलि र भेटी लिएर आउने गरेको बताए ।

सो मन्दिरमा बाख्राको पाठी र कुखुराको पोथीको मात्रै बलि चढाइन्छ । शाकाहारीले भने दूध चढाउने गर्दछन् । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले आलमदेवी मन्दिरमा पनि कोरोना जोखिम भएकाले पूजापाठमा पनि रोक लगाइएको जनाए।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस