समाचार

धरान चिनाउने धामः दन्तकाली

dantakali mandir

११ कात्तिक, काठमाडौं । पूर्वको प्रसिद्ध शक्तिपीठ  दन्तकाली मन्दिरको यस वर्षको नौरथामा भेटी घटेको छ । धरान–१४ विजयपुर डाँडास्थित  मन्दिरमा ५१ वर्षदेखि दशैँको नौ दिन ठूलो मेला लाग्ने गरेको थियो । दैनिक पाँच हजारभन्दा बढी मानिस घुम्न तथा पूजाआजा गर्न आउने गरेका थिए ।

यस  वर्ष कोरोना महामारीका कारण संघीय तथा स्थानीय सरकारले मन्दिरमा पूजाराधनामा बन्देज लगाएपछि  नौरथामा मात्र मन्दिरलाई झण्डै रु ६ लाख घाटा भएको मन्दिरका मूल पूजारी विश्वराज खनालले जानकारी दिए । प्रदेश नं १ को धरानमा अधिक कोरोना संक्रमण फैलिएको छ ।

संक्रमित र मृत्यु हुनेको संख्या बढ्दो छ । सोही कारणले बडादशैंमा नित्यपूजा तथा विशेष पूजामा पुजारीबाहेक कसैलाई पनि प्रवेश गर्न नदिइएको भएको धरान उपमहानगरपालिका १४ नं  अध्यक्ष कृष्ण भट्टराईले जानकारी दिए ।

उनका अनुसार दन्तकालीमा यस पटक विगत जस्तो नवरात्रिको बढाइँ भएन । फूलपातीको पनि विधि मात्र पूरा गरियो । यसैगरी बलि पनि मन्दिर समितिका तर्फबाट मात्र गरिएको छ । मन्दिरका तर्फबाट र वडा कार्यालयले सूचना प्रकाशन गरी मन्दिरमा नजान र घरमै पूजा गर्न भक्तजन तथा सर्वसाधारणलाई आग्रह गरिएको थियो ।

‘दशैंको नौरथामा घुम्न आउने तथा पूजा गर्न आउनेबाट मात्र दैनिक रु ५०/६० हजार आम्दानी हुने गरेको थियो’, मूल पुजारी खनालले भने, ‘यस वर्ष कोही आउन पाउनु भएन । हाम्रो आम्दानी गुम्यो ।’

मन्दिर परिसरमा नौरथामा मात्र दैनिक एक लाख भन्दा बढीको पूजा सामग्री, खेलौना, मन्दिरका चिनारी तस्वीर, नरिवल, बेलुनलगायत सामग्री बिक्रीबाट आम्दानी हुने गरेको थियो ।  कोरोनाका कारण मन्दिर परिसरमा व्यवसाय गर्दै आएका व्यापारीको पनि व्यापार चौपट भएको स्थानीयवासी दुर्गा भुजेलले बताए ।

मूल पुजारी खनालका अनुसार महाअष्टमीमा भक्तजनले बोका, राँगा र  हाँसको बलि दिने गरेका थिए । एक सयदेखि दुई सयसम्म पशुपक्षीको बलि दिँदै आए पनि यस वर्ष भक्तजन आएनन् । विधि र प्रक्रिया पु¥याउन नौ दिन नै दैनिक पशुबलि दिने गरिन्छ । अन्य समयमा पनि १५/१५ दिनमा बोकाको बलि दिने परम्परा छ ।

सात महिनादेखि सर्वसाधारणलाई मन्दिर प्रवेशमा रोक लगाइएका कारण  आम्दानी शून्य हुँदा व्यवस्थापन समिति घाटामा गइरहेको पुजारी खनालले बताए ।  सत्ययुगमा पार्वतीको दाँत पतन भएका स्थानमा दन्तकाली माताको उत्पति भएको किंवदन्ती पाइन्छ । यो कुरा श्रीस्वस्थानी कथामा समेत उल्लेख गरिएको छ ।

यहाँ बलि दिँदा र  पूजाराधना गर्दा मनमा चिताएको पुग्ने विश्वासले हजारौँ भक्तजनले टाढाटाढाबाट आएर पशुपक्षि बलि दिने तथा पूजाराधना गर्ने गरेको स्थानीयवासी भुजेलले बताए । धरानको विजयपुरमा पिण्डेश्वर बाबा, बुढासुब्बा मन्दिर तथा पञ्चकन्या मन्दिर पनि छन् । यी कुनै मन्दिरमा आउने भक्तजन दन्तकाली मन्दिरको दर्शन नगरी फर्कँदैनन् ।

दन्तकाली मन्दिर गुठीअन्तर्गत सञ्चालन हुँदै आएको छ । यहाँका आम्दानी पुजारीले व्यवस्थापन गर्दै आएका छन् । बाहिरबाट भक्तजनले प्रवेश नपाएपछि यस वर्ष पाँच पुजारीले पूजाराधना गरेका छन् । दैनिक फूलपाती, धुप, बत्ती बाल्ने काम पुजारीले गर्दै आएका छन् । सामान्य रुपमा पनि महिनामा रु १५/२० हजार खर्च व्यवस्थापन समितिले व्यहोर्दै आएको पुजारी खनालले बताए ।

लकडाउनले आम्दानी नभए पनि परम्परा धानिरहेको मन्दिर गुठी व्यवस्थापन समितिका संयोजक रमेश खनालले बताए । महिनामा दुई  बोका बलि चढाउने चलन  छ । महिनामा रु २० हजार सामान्य खर्च हुने गरेको छ । धरानलाई चिनाउने धाममा उपमहानगरपालिकाको उपस्थिति र सहयोग भने शून्य रहेको पुजारी खनालले बताए । यस्तो समस्या परेका बेला त सहयोगको अपेक्षा गरिए पनि केही राहत नपाएको उनको भनाइ छ ।

महाभारतकालीन इतिहास बोकेको र पछिल्लो समयमा किरात राजधानीका रुपमा रहेको विजयपुर धरान उपमहानगरको शिर मानिन्छ । पाँच सय वर्ष पहिले बङ्गालका राजाले जीर्णाेद्धार गरेको पिण्डेश्वर मन्दिरका अभिलेख पढ्दा पुरातात्विक, पौराणिक एवं ऐतिहासिक महत्व देखिन्छ  । हालको आधुनिक धरान शहर रहेका स्थानमा शुरुमा घना जङ्गल रहेको र  फँडानीका क्रममा काठ चिर्ने आरावालाले तयार गर्ने गरेको धरान (धराप) बाट नै आजको धरान शहरको नामकरण भएको भन्ने भनाइ छ ।

विजयपुरमा धेरैअघिदेखि बसोबास भए तापनि विसं १९५० तिर घनाजङ्गल फँडानी गरेर समतल क्षेत्रमा सानो बस्तीबाट शुरुआत भएको धरान विसं १९५९ मा तत्कालीन राणा प्रधानमन्त्री  चन्द्रशम्शेरले चन्द्रनगर (हाल पुरानो बजार) र विसं १९९० तिर जुद्ध शम्शेरले जुद्ध नगर (हालको नयाँबजार) बसालेको  पाइन्छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस