११ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा २ नं प्रदेश कमिटी सदस्य मानपुर चौधरीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
प्रचण्डले विगत लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा संक्रिय चौधरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन् ।
प्रचण्डले आज एक ट्वीट सन्देशमा भनेका छन्,’संविधानसभा सदस्य तथा हाम्रो पार्टीका २ नं. प्रदेश कमिटी सदस्य कमरेड मानपुर चौधरीको कोरोना भाइरसको संक्रमणका कारण असामयिक निधन भएको खबर पाउँदा दुखित छु । दिवंगत कमरेड चौधरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’
सप्तरी, कञ्चनरुप नगरपालिका–४ जगतपुर निवासी चौधरीको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज निधन भएको हो । उनी २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।