समाचार

धौवलागिरिको मुदी सडक सञ्जालमा जोडियो

road

१२ कात्तिक, म्याग्दी । म्याग्दीको धौवलागिरि गाउँपालिका–४ मुदी सडक सञ्जालमा जोडिएको छ । गाउँपालिकाको केन्द्र मुनाको फलियागाउँदेखि दरहुँदै मुदी जोड्ने सडक निर्माण गरेर यातायात सञ्चालन गरिएको हो ।

सडक निर्माण भएपछि डेढ घण्टाको बाटो बीस मिनेटमा छोटिएको छ । मुदीका विजय घर्तीमगरले यातायातका साधन चल्न थालेपछि यात्राको अवधि छोटिएको, ढुवानी भाडा घटेको र आवतजावतमा सहज भएको बताए ।

गत असार महिनामा मार्ग खोलिएको सडकमा खसेको पहिरो पन्छाएपछि यसै महिनादेखि जीप, ट्याक्टर र मोटरसाइकल चल्न थालेका छन् । यसअघि घोडा, खच्चर र भरियाबाट दैनिक उपभोग्य सामान ढुवानी गर्दा महँगो परेको थियो । मुदी म्याग्दीको जडीबुटीको भण्डार मानिन्छ । कृषकले पालेका खसीबोका बजार पठाउन सजिलो भएको छ ।

वडाध्यक्ष बेगप्रसाद घर्तीले मुदी, खिवाङ, नेरवाङ, नाउरा, बगर, चेचुङ, सिम्कोशका करिब एक हजार घरधुरी लाभान्वित भएका बताए । विसं २०७३ मा शुरु भएको फलियागाउँदेखि मुदी सम्मको सडकको दुरी करिब ६ किलोमिटर छ । बस चलाउन मिल्ने गरी छ मिटर फराकिलो बनाइएको छ ।

अधिकांश ठाउँमा पहाड फुटाएर सडक निर्माण गर्न रु तीन करोड खर्च भएको गाउँपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७३÷७४ मा तत्कालीन जिविसले रु ४२ लाख र राष्ट्रिय योजना आयोगले रु ४० लाख खर्चेर दरसम्म ट्याक खोलेका थिए ।

विसं २०७४ मा गाउँपालिकाले विनियोजन गरेको रु ९० लाखबाट सिमवाङको फाँटसम्म सडक पु¥याइएको थियो । २०७५ मा गाउँपालिकाको रु ६५ लाख र स्थानीय पूर्वाधार साझेदारी कार्यक्रममार्फत रु २३ लाख खर्च भएको थियो । गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले आर्थिक वर्ष २०७६÷७७ मा रु ४५ लाख ४० हजारमा ठेक्का सम्झौता गरेको थापा निर्माण सेवाले एक कलोमिटर ३०० मिटर नयाँ सडक खनेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस