
१३ कात्तिक, काठमाडौं । अभिनेता अक्षयकुमारको आउँदो फिल्म ‘लक्ष्मी बम’ विवादमा तानिएको छ । दीपावलीमा रिलिजको तयारीमा रहेको फिल्मको शीर्षकका कारण निर्माण टिम विवादमा तानिएको हो ।
चलचित्रको नाम परिवर्तन गर्नुपर्छ भन्दै श्री राजपुत कर्णी सेनाले निर्माण टिमलाई कानुनी सूचना पठाएको छ । अक्षय र कियारा आडवाणी अभिनित यस चलचित्र यसै वर्षको नोभेम्बर ९ मा डिज्नी प्लस हटस्टारमा रिलिजको तयारीमा थियो ।
बलिउड हंगामाका अनुसार, यो सूचना कर्णी सेनाका तर्फबाट आघवेन्द्र मेहरोत्राले पठाएका हुन् । नोटिसमा लक्ष्मी बम्ब हिन्दू धर्मावलम्बीहरुले पुज्ने लक्ष्मी भवानीप्रति अपमानजनक र आपत्तिजनक भएको उल्लेख गरिएको छ।
यसका साथै निर्माण टिमले जानीबुझी लक्ष्मी बम्ब नाम राखेको जिकिर नोटिसमा गरिएको छ । फिल्मले देवीको अनादर गरेको आरोप उनीहरुको छ ।
निर्देशक राघव लरेन्सले मूल तमिल चलचित्र ‘मुनि २: कन्चना’ पनि निर्देशन गरेका थिए । यही तमिल चलचित्रको हिन्दी रिमेक ‘लक्ष्मी बम्ब’ एक पुरुष, जसलाई ट्रान्सजेन्डर भूतले आफ्नो नियन्त्रणमा राख्छ, त्यसको कथामा आधारित छ ।