१३ कात्तिक, काठमाडौं । पर्साको विन्दवासनी गाउँपालिकामा नेकपाको सपथग्रहण कार्यक्रममा दुई पक्षबीच भएको झडपमा घाइते मुकेश चौरसियाको मृत्यु भएको घटनामा प्रहरीले पूर्वसांसद राजकुमार गुप्तासहित १२ जनाविरुद्ध जाहेरी दर्ता गरेको छ ।
पहिले जाहेरी लिन नमानेको प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयको आदेशमा बिहीबार जाहेरी दर्ता गरेको हो ।
पीडित परिवारले १२ जनाविरुद्ध किटानी जाहेरी दिएको पर्साका डीएसपी मनोजित कुँवरले जानकारी दिए । किटानी जाहेरी परेकामध्ये ३ जना हिरासतमा छन् भने अरुलाई प्रहरीले पक्राउ गरेको छैन ।
यसअघि जाहेरी लिन अस्वीकार गरेको भन्दै नेकपाका नेता तथा कार्यकर्ताहरुले पर्सामा प्रहरी कार्यालयबाहिर प्रदर्शन र नाराबाजी गरेका थिए । प्रहरीले जाहेरी लिन नमानेपछि मृतकका परिवारले एकसातादेखि चौरसियाको शव समेत बुझेका थिएनन् ।
प्रहरीले जाहेरी लिएसँगै मृतकका आफन्तले चौरसियाको शव बुझ्ने तयारी भइरहेको र पोष्टमार्टमपछि शुक्रबार अन्त्येष्टि गरिने नेकपा वीरगञ्ज महानगरका अध्यक्ष रहबर अन्सारीले जानकारी दिए । चौरसियाको शवलाई अहिले वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको छ ।
नेकपाको विन्दवासिनी गाउँपालिका कमिटीकोसपथ ग्रहण कार्यक्रममा कात्तिक ६ गते दुई पक्षबीच झडप हुँदा चौरसिया गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा वीरगञ्जस्थित एलएस न्युरो अस्पतालमा मृत्यु भएको थियो ।
एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुक र ट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।