समाचार

मुसाफिर मदिनी मस्जिद तोडफोड : पुनर्निर्माणमा वडाध्यक्षको अवरोध

masjid todfod

१३ कात्तिक, काठमाडौं । गत शनिबार तोडफोड गरिएको मस्जिद पुनर्निर्माणमा वडाध्यक्षले अवरोध गरेको भन्दै मुस्लिम समुदाय आक्रोशित भएका छन् । शनिबार विहान डोजर लगाएर केही व्यक्तिहरुले सुन्धारामा रहेको मुसाफिर मदिनी मस्जिदमा तोडफोड गरेका थिए ।

पुनर्निर्माणको भइरहेको ठाउँमा वडाध्यक्षसहितको टोलीले अवरोध गरेपछि मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीसमेत घटनास्थल पुगेका थिए । अध्यक्ष अन्सारीले जनताको प्रतिनिधिले जनताको पक्षमा काम गर्नुपर्ने भए पनि भूमाफियाको पक्षमा काम गरिरहेको आरोप लगाए ।

भत्केको ठाउँमा पुर्ननिर्माण भइरहेको पाँचौ दिनमा अवरोधको प्रयास गरी सामाजिक सद्भाव खलबलाउने प्रयास भएको पनि उनले बताए । कानूनी हिसाबले नसकेपछि गुण्डागर्दी शैलीमा मस्जिद भत्काउने काम भएको अध्यक्ष अन्सारीको भनाइ छ ।

स्थानीय लक्ष्मी परियारले भत्केको ठाउँमा पुनर्निर्माण कार्यलाई वडाध्यक्षले निर्माणमा अवराध गरेको बताए । परियारका अनुसार वडाध्यक्षले निर्माणको काम नरोके आफै भत्काउने धम्की दिएका छन् । निर्माणधिन धरहराको ठीक पछाडी ६ आना ३ दाम क्षेत्रफलमा रहेको यो मस्जिदको स्वामित्व नेपाल सरकारसँग रहेको छ भने भोगचलन मस्जिद व्यवस्थापनले गर्दै आएको छ ।

यो मस्जिद ०७२ सालको भूकम्पले धरहरा ढल्दा क्षतिग्रस्त बनेको थियो । यसलाई मुस्लिम समुदायले अस्थायी रूपमा संरचना बनाई प्रयोग गरिरहेका छन् । आजभन्दा एक सय वर्षअघि मुस्लिम धर्मावलम्बीहरू काठमाडौं आउजाउ गर्दा नमाज पढने स्थानको रूपमा स्थापित भएको यो मस्जिदमा अहिले पाँच प्रहरको नमाज पढ्न मुस्लिम समुदाय पुग्ने गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस